पशुपालनमा साना कमजोरी, ठूलो क्षति: वैज्ञानिक व्यवस्थापन नै समृद्धिको आधार

—डा.झरना मरासिनी,
नेपाल कृषि प्रधान देश हो र यहाँका अधिकांश ग्रामीण परिवारको आयआर्जन, पोषण तथा जीवनयापनको महत्वपूर्ण आधार पशुपालन हो। गाई, भैंसी, बाख्रा, बंगुर तथा कुखुरापालनले खाद्य सुरक्षा, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पछिल्ला वर्षहरूमा व्यावसायिक पशुपालनप्रति आकर्षण बढे पनि उत्पादन र उत्पादकत्व अपेक्षित स्तरमा पुग्न सकेको छैन। यसको प्रमुख कारण आधुनिक तथा वैज्ञानिक पशुपालन अभ्यासको सीमित प्रयोग हो।

पशु चिकित्सकको रूपमा विभिन्न क्षेत्रमा काम गर्ने क्रममा एउटा समान समस्या बारम्बार देखिन्छ—धेरै किसानले रोग लागेपछि मात्र उपचार खोज्ने गर्छन्। वास्तवमा पशुपालनमा उपचारभन्दा रोगको रोकथाम (Prevention) बढी प्रभावकारी, कम खर्चिलो र दिगो उपाय हो। नियमित खोप, कृमिनाशक औषधिको प्रयोग, जैविक सुरक्षा (Biosecurity), सन्तुलित पोषण तथा नियमित स्वास्थ्य परीक्षणले धेरै रोगहरू सुरु हुनुअघि नै नियन्त्रण गर्न सकिन्छ।

अझै पनि धेरै ठाउँमा गोठ व्यवस्थापन वैज्ञानिक छैन। पर्याप्त घाम र हावा नपुग्ने, पानी निकासको उचित व्यवस्था नहुने तथा नियमित सरसफाइ नगर्ने कारण गोठमा किर्ना, उपियाँ, झिँगा र अन्य परजीवीको संक्रमण बढ्ने सम्भावना हुन्छ। यस्ता परजीवीले पशुमा रक्तअल्पता, छालाका समस्या, तनाव तथा उत्पादनमा कमी ल्याउँछन्। त्यसैले सफा, सुक्खा, हावापसार हुने र नियमित निसंक्रमण गरिने गोठ नै स्वस्थ पशुपालनको पहिलो आधार हो।

नेपालमा बेलाबेलामा रेबिज (Rabies) का घटनाहरू पशुमा पनि देखिने गरेका छन्। कार्यक्षेत्रमा गोठमै बाँधेर पालिएका गाईभैंसीमा समेत रेबिज संक्रमण पुष्टि भएका उदाहरण भेटिएका छन्। आवारा कुकुर वा जंगली जनावरसँगको सम्पर्क, गोठको सुरक्षा कमजोरी तथा समयमै खोप नलगाइनुले यस्तो जोखिम बढाउँछ। रेबिज लक्षण देखिएपछि प्रायः घातक हुने भएकाले यसको रोकथामका लागि नियमित खोप र सचेतना अत्यावश्यक छ।

दुग्ध उत्पादन गर्ने किसानमा थुनेलो (Mastitis) अर्को प्रमुख समस्या हो। दूध दुहुनुअघि र पछि थुन सफा नगर्नु, फोहोर वातावरणमा पशु राख्नु, संक्रमित पशुलाई अलग नगर्नु तथा गलत दुहाइ प्रविधि अपनाउनु यसको प्रमुख कारण हुन्। थुनेलोले दूध उत्पादन र गुणस्तर दुवै घटाउँछ। त्यसैले थुनको सरसफाइ, Teat Dipping, पहिलो धारको दूध परीक्षण (Strip Cup Test) तथा समयमै उपचार गर्ने बानी विकास गर्नुपर्छ।

बाख्रापालन गर्ने किसानमा PPR, निमोनिया, आन्तरिक तथा बाह्य परजीवीको संक्रमण धेरै देखिन्छ। समयमै खोप, नियमित कृमिनाशक औषधि, सुक्खा गोठ र सन्तुलित आहारले यी रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। त्यस्तै, बंगुरपालन मा अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर, झाडापखाला र श्वासप्रश्वाससम्बन्धी रोगहरूले ठूलो आर्थिक क्षति पुर्‍याउन सक्छन्। त्यसैले नयाँ बंगुरलाई केही समय छुट्टै राख्ने (Quarantine), नियमित निसंक्रमण गर्ने, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्ने र गुणस्तरीय दानाको प्रयोग गर्ने अभ्यास अनिवार्य हुनुपर्छ।

सन्तुलित पोषण पशुपालनको अर्को महत्वपूर्ण आधार हो। धेरै किसानमा कुन घाँस, दाना वा खनिजले कस्तो पोषण दिन्छ भन्ने पर्याप्त जानकारी छैन। केवल हरियो घाँस वा परालले मात्र पशुको पोषण आवश्यकता पूरा हुँदैन। पशुलाई ऊर्जा, प्रोटिन, खनिज, भिटामिन र प्रशस्त सफा पानी आवश्यक हुन्छ। स्थानीय स्रोतका घाँससँगै लेग्युमयुक्त घाँस, मिनरल मिक्स्चर र आवश्यकता अनुसार सन्तुलित दाना प्रयोग गर्न सके दूध उत्पादन, तौल वृद्धि, प्रजनन क्षमता र रोग प्रतिरोधात्मक शक्ति उल्लेखनीय रूपमा बढ्न सक्छ।

पशु कल्याण (Animal Welfare) पनि सफल पशुपालनको अभिन्न पक्ष हो। कतिपय किसान केही दिन घरबाहिर जाँदा पशुको आहार, पानी र हेरचाहको पर्याप्त व्यवस्था नगरी जाने गरेको पाइन्छ। समयमै आहार, सफा पानी, आरामदायी वातावरण र नियमित निरीक्षण पशुको आधारभूत आवश्यकता हुन्। पशुपालनलाई केवल आयआर्जनको माध्यम होइन, जिम्मेवारी र संवेदनशीलताको विषयका रूपमा पनि लिनुपर्छ।

आजको समयमा जैविक सुरक्षा (Biosecurity) बिना व्यावसायिक पशुपालन सफल हुन सक्दैन। नयाँ पशु खरिद गर्दा केही समय छुट्टै राख्ने (Quarantine), बिरामी पशुलाई अलग राख्ने, गोठमा नियमित निसंक्रमण गर्ने, बाहिरबाट आउने व्यक्ति तथा सवारीसाधनको आवतजावत नियन्त्रण गर्ने र मृत पशुको सुरक्षित व्यवस्थापन गर्ने अभ्यासले संक्रामक रोगको जोखिम उल्लेखनीय रूपमा घटाउँछ।

नेपालमा पशुपालन क्षेत्रको भविष्य उज्ज्वल छ। किसान, पशु चिकित्सक, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, नियमित तालिम, आधुनिक प्रविधिको प्रयोग, उन्नत प्रजनन प्रणाली, वैज्ञानिक पोषण व्यवस्थापन र प्रभावकारी रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिन सके उत्पादन र उत्पादकत्वमा ठूलो सुधार ल्याउन सकिन्छ।

अन्ततः, पशुपालनको सफलता धेरै पशु पाल्नुमा होइन, स्वस्थ, पोषित र वैज्ञानिक रूपमा व्यवस्थापन गरिएका पशु पाल्नुमा निर्भर हुन्छ। आजको सानो लापरबाहीले भोलि ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ, तर सानो सुधारले दीर्घकालीन समृद्धिको ढोका खोल्न सक्छ। यही कारण वैज्ञानिक पशुपालन आजको आवश्यकता मात्र होइन, नेपालको कृषि विकासको भविष्य पनि हो।

-पशु चिकित्सक डा.झरना मरासिनी धादिङको धाक्रे गाउँपालिकाको पशु शाखा प्रमुख हुनुहुन्छ ।

TOP