नुवाकोटमा तास खेल्ने ६ जना पक्राउ, ६७ हजार रुपैयाँ बरामद

विदुर । जुवातास खेलिरहेको अबस्थामा नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं ५ फेदीबेसीँबाट ६ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

स्थानीय हिराबहादुर तामाङको घरमा तास खेलिरहेको अबस्थामा संलग्न रहेका ६ जना सहित उनीहरुको साथबाट ६७ हजार ६६५ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सहप्रवक्ता वीरबहादुर बुढाएरले जानकारी दिनुभयो ।

उहाँको अनुसार पक्राउ पर्नेमा घरधनी समेत रहेका हिराबहादुर तामाङ, मोहन अधिकारी, रामकृष्ण बस्नेत, सुदनजंग खाती, कृष्णबहादुर थापा र रामचन्द्र बोगटी रहेका छन् ।

उनीहरुलाई जुवा ऐन अन्तरगत कारबाहीको लागी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो । उक्त स्थानमा व्यावसायिक रुपमा हार-जित हुने गरेर लामो समयदेखि जुवातास खेल्ने गरेको र सोही कारण स्थानीय क्षेत्रको शान्ति सुरक्षा समेत प्रभावित हुदै आएको थियो ।

विगतका समयमा स्थानीयले जुवातासको कारण समाजमा नकारत्मक सन्देश प्रवाह भएको, खेलमा हुने हारजितले संलग्न व्यक्तिहरुको घरको आर्थिक अबस्थालाई प्रभावित बनाएको, जुवा-ताससंगसगैँ मदिराको समेत सेवन गर्ने गर्नाले होहल्ला सहित समाजमा अशान्ति कायम भएको गुनासो धेरै पटक प्रहरी कार्यालयमा आएसगैँ गोप्य रुपमा प्रहरीले छापा मारेर जुवातास खेल्नमा संलग्नलाई कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

TOP