बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

असार १२, २०८३ मा प्रकाशित | 28 views

बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

नुवाकोट । सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा उल्लेखनीय क्षति पुगेको छ।

मकै पाक्ने बेला पुगेका बालीमा बदेलले व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अध्यक्ष राजकुमार तामाङ (रञ्जित) लगायत स्थानीय किसानहरूको सहभागितामा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको हो।

अनुगमनका क्रममा वडाध्यक्ष तामाङले प्रभावित किसानहरूसँग प्रत्यक्ष छलफल गर्दै क्षतिको वास्तविक अवस्था बुझ्नुभएको थियो। साथै, किसानहरूले व्यहोरेको क्षतिको विवरण संकलन गरी आवश्यक अभिलेख तयार पारिएको छ।

संकलित विवरणका आधारमा डिभिजन वन कार्यालय, खरानीटार अन्तर्गतको शाखा वन कार्यालयलाई जानकारी गराउँदै प्रचलित कानुन तथा निर्धारित प्रक्रियाअनुसार प्रभावित किसानहरूले उचित क्षतिपूर्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइदिन आवश्यक पहलका लागि ध्यानाकर्षण गराइएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित) ले वन्यजन्तुको आक्रमणबाट पीडित बनेका किसानहरूको समस्याप्रति वडा कार्यालय संवेदनशील रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी किसानले राहत तथा क्षतिपूर्ति पाउने वातावरण बनाउन निरन्तर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय किसानहरूले पछिल्लो समय बदेलको आक्रमणका कारण वर्षभरिको मेहनत खेर जाने अवस्था सिर्जना भएको भन्दै वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन समाधानको समेत माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web