बजेट चित्तबुझ्दो भएपनि न्यायोचित वितरण हुन सकेन : प्रदेशसभा सदस्य राधिका तामाङ

असार ५, २०८३ मा प्रकाशित | 201 views

बजेट चित्तबुझ्दो भएपनि न्यायोचित वितरण हुन सकेन : प्रदेशसभा सदस्य राधिका तामाङ

नुवाकोट । बागमती प्रदेशसभा सदस्य राधिका तामाङले बागमती प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा नुवाकोट जिल्लाका लागि चित्तबुझ्दो रहे पनि यसको वितरणमा न्यायोचित र सन्तुलित दृष्टिकोण अपनाउन नसकिएको बताउनुभएको छ।

नुवाकोटका विभिन्न विपद् जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नुवाकोट–१ प्रदेस ‘क’ बाट निर्वाचित तामाङले बजेट विनियोजन गर्दा भौगोलिक विकटता, विकासको आवश्यकता र पछाडि परेका बस्ती तथा समुदायलाई अपेक्षाअनुसार प्राथमिकता दिन नसकिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार जिल्लाका केही क्षेत्रले आवश्यकता भन्दा बढी बजेट प्राप्त गर्दा विकासका दृष्टिले पछाडि परेका तथा आधारभूत पूर्वाधारको अभाव झेलिरहेका क्षेत्रहरू ओझेलमा परेका छन्। बजेट वितरणमा पहुँच र प्रभावको आधारभन्दा आवश्यकता र वस्तुगत मापदण्डलाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो।

प्रदेशसभा सदस्य तामाङले विकट तथा जोखिमयुक्त बस्तीहरूमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनसँग सम्बन्धित योजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्ता क्षेत्रहरूमा राज्यको लगानी बढाउन सके मात्र समावेशी र सन्तुलित विकासको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ।

संघीय सरकारको पूर्व कृषि विकास राज्यमन्त्री तथा बागमती प्रदेसको पूर्व सभामुख समेत रहनुभएका सांसद् तामाङले आगामी दिनमा बजेट विनियोजन गर्दा जिल्लाभित्रका सबै स्थानीय तह, वडा तथा समुदायको वास्तविक आवश्यकता अध्ययन गरी स्रोत–साधनको न्यायोचित वितरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सांसद् तामाङले नुवाकोटका नागरिकको जीवनस्तर सुधार, विपद् जोखिम न्यूनीकरण तथा पूर्वाधार विकासका लागि प्रदेश सरकारसँग निरन्तर पहल र समन्वय गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web