एकीकरण पदमार्ग स्तरोन्नति तथा सिँढी निर्माण कार्य सम्पन्न

जेष्ठ २६, २०८३ मा प्रकाशित | 144 views

एकीकरण पदमार्ग स्तरोन्नति तथा सिँढी निर्माण कार्य सम्पन्न

नुवाकोट । विदुर नगरपालिका वडा नं. १० स्थित शुभघाटदेखि गेर्खुटारसम्मको एकीकरण पदमार्ग स्तरोन्नति तथा सिँढी निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत सम्पन्न  कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले नेपालको इतिहाससँग प्रत्यक्ष जोडिएको एकीकरण पदमार्गको संरक्षण, प्रवर्द्धन र विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको छ।

नगरप्रमुख श्रेष्ठले पृथ्वीनारायण शाह र उहाँको सैनिक फौजले यात्रा गरेको ऐतिहासिक मार्गलाई जोगाउनु केवल पूर्वाधार निर्माणको विषय मात्र नभई राष्ट्रको गौरवशाली इतिहास संरक्षण गर्ने अभियान भएको उल्लेख गर्नुभयो। उहाँले नेपाली सेना र विदुर नगरपालिकाबीचको सहकार्यमा सुरु गरिएको पदमार्ग तथा सिँढी निर्माण कार्यको प्रशंसा गर्दै बाँकी रहेका खण्डहरूमा समेत यस्ता योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।

साथै, अध्ययन सम्पन्न भइसकेका अन्य योजनाहरूलाई आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्न नेपाली सेनासमक्ष आग्रह गर्दै नगरप्रमुख श्रेष्ठले एकीकरण पदमार्गको विकासले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। नुवाकोटको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा श्री नं. ६ बाहिनी अड्डाका सहायक रथी तथा बाहिनीपति उज्जवलविक्रम राणा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुखहरू, वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

एकीकरण पदमार्गको स्तरोन्नति तथा सिँढी निर्माण कार्यका लागि नेपाली सेनाले करिब नौ लाख रुपैयाँ खर्च गरेको जनाएको छ। करिब ३०० मिटर लम्बाइको सिँढी निर्माण योजनाअन्तर्गत एक सय मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न भइसकेको छ भने बाँकी काम क्रमशः अघि बढाइने श्री शेर गण नुवाकोटका गणपति आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो।

उहाँका अनुसार शीघ्र प्रभावी आयोजनामार्फत नेपाल एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा तथा पदमार्गहरूको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको छ। यसले राष्ट्र निर्माणको गौरवपूर्ण इतिहासको जगेर्ना गर्नुका साथै पर्यटन विकास र नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

गोर्खा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म फैलिएको एकीकरण पदमार्ग नेपालको एकीकरण अभियानसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण ऐतिहासिक सम्पदा मानिन्छ। नुवाकोट खण्डमा रहेका यस्ता ऐतिहासिक पदमार्गहरूको संरक्षण तथा विकासले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web