
नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गाउँपालिका भित्र रहेका सातवटै माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई गाउँपालिका कार्यालयमा बोलाएर नतिजाको समीक्षा गर्नुभएको हो ।
बैठकमा यस वर्षको SEE नतिजा किन कमजोर भयो भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो । विद्यार्थीको नियमित उपस्थितिदेखि शिक्षकको जिम्मेवारी, अभिभावकको भूमिका, पठनपाठनको वातावरण, अतिरिक्त कक्षा सञ्चालन तथा परीक्षाको तयारीसम्मका विषयमा समीक्षा गरिएको बताइएको छ ।
अध्यक्ष अधिकारीले अबको शैक्षिक सत्रमा नतिजा सुधारलाई मुख्य प्राथमिकता दिन निर्देशन दिँदै विद्यालयहरूलाई सातबुँदे निर्देशन जारी गर्नुभएको छ । उहाँले विद्यालयमा नियमित अनुगमन, कमजोर विद्यार्थीका लागि विशेष कक्षा, शिक्षकको जिम्मेवारी बढाउने, अभिभावकसँग समन्वय गर्ने, मासिक प्रगति समीक्षा गर्ने, अनुशासन कायम गर्ने तथा गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको बताइएको छ ।
उहाँले “अब नतिजामा सुधार देखिनै पर्ने अवस्था आएको छ, सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ” भन्दै विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
गाउँपालिकाले आगामी दिनमा विद्यालयहरूको शैक्षिक अवस्था नियमित मूल्यांकन गर्ने तथा सुधार नदेखिएका विद्यालयप्रति थप कडाइ गरिने संकेत समेत दिएको छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष शिव अधिकारी ‘अविरलले दिनुभएको सातबुँदे निर्देशन यस्तो छ:
१. हरेक विद्यालयले महिनाभरिको शैक्षिक गतिविधि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिताको स्तर र त्यसबाट प्राप्त उपलब्धिलाई समेटेर हरेक महिनाको अन्तिम साता अनिवार्य रुपमा गाउँपालिकाको शिक्षा शाखामा मासिक प्रतिवेदन पेश गर्नुपर्ने ।
२. प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाले भवितव्य तथा अत्यन्त जरुरी परिस्थिति बाहेक बिदामा बस्न नमिल्ने र बस्नै परेको खण्डमा बिदा स्वीकृत गर्नुपूर्व प्रधानाध्यापकले गाउँपालिकाको शिक्षा शाखाबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने ।
३. विषयगत शिक्षकहरूले आफूले अध्यापन गरेको विषयमा जुन कुनै हालतमा सबै विद्यार्थीलाई उत्तीर्ण गराउने गरी संकल्पका साथ कार्यसम्पादन गर्नुपर्ने, आवश्यक परे अतिरिक्त समयमा मेहनत गरेर भए पनि फरक क्षमता भएका अपवादका बाहेक सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराउनैपर्ने ।
४. कानुन र विधिको अधीनमा रहेर प्रधानाध्यापकहरूले आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि निर्मम र कठोर रूपमा कदम चाल्नुपर्ने । शैक्षिक सुधारमा खरो रूपमा उत्रिन नसक्ने प्रधानाध्यापकलाई बर्खास्त गरिने ।
५. विद्यालय समयमा कुनै पनि शिक्षक शिक्षिकाले विद्यालय छोडेर मेलापर्व, भोजभतेर जस्ता गतिविधिमा सहभागी हुन नपाइने ।
६. व्यवस्थापन समितिले अनिवार्य रुपमा आफ्नो विद्यालयको नियमित निरीक्षण गर्नुपर्ने र विद्यालयमा देखिएका कमीकमजोरीबारे गाउँपालिकाको शिक्षा शाखामा तुरुन्तै रिपोर्ट गर्नुपर्ने ।
७. विद्यालयले मासिक रुपमा SEE परीक्षालाई लक्षित गरी स्तरोन्नति परीक्षा (मिनी एक्जाम / Boost up test) सञ्चालन गर्नुपर्ने, मासिक परीक्षाको नतिजा अनुसार आगामी महिनाको रणनीतिक कार्ययोजना तय गर्नुपर्ने ।
गाउँपालिकाले शैक्षिक सुधारका लागि ठूलो मात्रामा लगानी गरिरहेको र विविध कार्यक्रमहरूका बाबजुद नतिजाको स्तरमा भने अपेक्षाकृत सुधार नभएकाले स्पष्ट योजना र भारी लगनशीलताका साथ विद्यालय प्रशासन र शिक्षकहरूले काम गर्नुपर्ने विद्यमान अवस्थातर्फ जोड दिँदै अध्यक्ष अधिकारीले आगामी दिनमा विद्यालयहरूको समस्त गतिविधिको कडा रूपमा नियमन र समीक्षा गरिने बताउनुभएको छ । नतिजा सुधारका लागि अतिरिक्त कक्षाहरूको व्यवस्था गर्ने तयारी भइरहेको समेत उहाँले बताउनुभएको छ ।
17.03¡ÆC