नुवाकोटमा २१८ जनाको दृष्टि फर्काइयो

बैशाख २३, २०८३ मा प्रकाशित | 221 views


त्रिशूली । आँखाको बिरामी भएर ज्योती गुमाएका मध्ये नुवाकोटमा २१८ जनाको पुनः दृष्टि फर्काइएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाईटीको सयुक्त आयोजनामा यही बैशाख २१ र २२ गते मोतियाबिन्दु भएका र मासु पलाएको समस्यासंग सम्बन्धित २१८ जनाको शल्यक्रिया गरिएको हो ।

तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटका इञ्चार्ज ताराबहादुर वाइवाको अनुसार जिल्लाको विभिन्न १२ स्थानमा आयोजना गरिएको शिविरमा मोतियाबिन्दु भएका २१२ जना बिरामी र आँखामा मासु पलाएका ६ जना समेत गरेर कुल २१८ जना बिरामीको नेत्ररोग विशेषज्ञ मार्फत शल्यक्रिया गरेर आँखाको ज्योती फर्काइएको हो ।

मोतियाबिन्दु भएका र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठानबाट आउनुभएका डा. इन्दिरा पौडेल सहितको टोली र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रका इञ्चार्ज ताराबहादुर वाइवा सहितको टोली संलग्न रहेको थियो । 

शल्यक्रिया शिविरको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै रेडक्रस नुवाकोट शाखा सभापति हरी श्रेष्ठले मानवीय सेवा अन्तरगत रेडक्रसले लामो समयदेखि पुराउदै आएको मोतियाबिन्दुको शल्यक्रिया उपचार सेवालाई सहुलियत शुल्क र निःशुल्क रुपमा उपलब्ध गराई दृष्टि गुमाएका र न्यून दृष्टि भएकालाई ज्योती फर्काउन सफल भएको उल्लेख गर्नुभयो । 

बैशाख २ गतेदेखि सुरु गरेर जिल्लाको विभिन्न १२ स्थानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६६२ जनाको परीक्षण गर्दा मोतियाबिन्दु देखिएको र आँखामा मासु पलाएका समेत गरेर कुल ३१४ जना बिरामी शल्यक्रियाको लागी सिफारिस भएका थिए । त्यो मध्ये शिरिवमा शल्यक्रिया गर्न २१२ जना मात्र आएको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नुवाकोटका कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार मोतियाबिन्दु पहिचान भएका मध्ये अझै कसरी एकसय बिरामीले उपचार गर्न नआएकाले उनीहरुलाई सम्पर्कमा ल्याएर जतिसक्दो चाडो अर्को शल्यक्रिया शिविर सञ्चालन गरिने भएको छ । 

नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहजिकरण एंव तिलगंगा आँखा प्रतिष्ठान मार्फत सञ्चालनमा रहेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र विदुर स्थापना भएको २१ वर्ष पूरा भएको छ । यस अवधिमा नुवाकोट सहित यस आसपासका सात हजार भन्दाबढी बिरामीको शल्यक्रिया गरेर दृष्टी फर्काउन सफल भएको नेपाल रेडक्रस सोसाईटी, नुवाकोट शाखाका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web