नयाँ वर्षमा दुप्चेश्वरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आयोजना 

चैत्र २८, २०८२ मा प्रकाशित | 268 views


नुवाकोट । नयाँ वर्ष–२०८३ को अवसरमा यही बैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ ।

नेपाल रिङ रेस्लिङ संघसंगको सहकार्यमा नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट सहित देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरहरुले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नुवाकोटको दुप्चेश्वर मन्दिर सहित यहाँको धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै मोफसलमा रिङ रेस्लिङ प्रतियोगिता विस्तारमा जोड दिन नुवाकोटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ संघका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार नुवाकोटमा यसअघि पहिलो र दोश्रो आर डब्ल समरस्ल्याम प्रतियोगिता, रेस्लिङ महाभिडन्त लगायतका प्रतियोगिता सम्पन्न भइसकेकाले ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिता थप रोमाञ्चक सहित आकर्षक हुने दाबी गरिएको छ ।

रिङ रेस्लिङ प्रतियोगिताको सफल प्रतियोगिता सम्पन्न भइसकेकाले नेपाल रिङ रेस्लिङ नुवाकोटले यो पटक विभिन्न विधामा गराउने प्रतिस्पर्धाले नेपालमा रेस्लिङ खेलको महत्व बढाउदै खेल प्रतिको आकर्षणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरहरु नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ्ग–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृती सुजल, एक्स–हिरो, सिजे–वल्ड, लगायतका नेपालका एक दर्जन भन्दाबढी रेस्लरहरुको महाभिडन्त समावेश गरिएको आयोजक नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट अध्यक्ष प्रलाद थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता मार्फत दुप्चेश्वर महादेव मन्दिर सहित सम्भावना भएर पनि प्रचारप्रसारको कारण ओझेलमा परेका नुवाकोटका धार्मिक, साँस्कृतिक एंव पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउदै आर्थिक उपार्जनसंग जोड्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘हेभी वेट’ (पुरुष) विधा अन्तरगत विजेताले गोल्डेन बेल्टसहित नगद रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विधाका विजेताले बेल्टसहित नगद रु ५० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरुष ट्याक्टिम हार्डकोर विधामा विजेताले मेडलसहित रु ६० हजार र त्रिपल थ्रेट विधामा विजेताले मेडलसहित रु २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागी करीब सात लाख रुपैयाँ लाग्ने अनुमान छ । उक्त रकम आयोजकले विभिन्न प्रायोजक मार्फत श्रोतको सुनिश्चित गरिएको र दुप्चेश्वर सहित नुवाकोटमा रहेका स्थानीयतहसंग पनि सहकार्य गरिने जानकारी दिएको छ । मुख्य प्रायोजकको रुपमा होटल कोटबारी रहेको छ । प्रतियोगिता सञ्चालनको लागी लाग्ने खर्चको ठूलो हिस्सा होटल कोटबारीले सहयोग गर्ने प्रतिबद्धता जनाएसगैँ आयोजकलाई प्रतियोगिता सञ्चालनको लागी उत्साह जागेको हो ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटले यसअघि शिवपुरी–७ सुर्यचौरमा ‘प्रथम आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ र दुप्चेश्वर मन्दिर परिसरमा ‘दोस्रो आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ गरेको थियो । यस्तै, शिबपुरी–६ स्थित गुर्जेमा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web