निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएको मितिमा हुन्छ : गृहमन्त्री अर्याल

माघ २४, २०८२ मा प्रकाशित | 203 views


नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा तोकिएको मितिमा शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) टेकेन्द्र कार्की सहित नुवाकोट आउनुभएका गृहमन्त्री अर्यालले नुवाकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज (शनिबार) आयोजित निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनको अबस्थाको सम्बन्धमा जानकारी लिएपश्चात सञ्चारकर्मीसंग कुरा गर्दै मौसम र सुरक्षाको कारण निर्वाचनको मिति फेरबदल गर्नुपर्ने अबस्था नआउने विश्वास दिलाउनुभयो ।

“मौसमको पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकुल हुने जानकारी पाएका छौ । सुरक्षाको दृष्टिकोणले शान्तिपूर्ण वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध भएका छौ ।” उहाँले भन्नुभयो “देशभर एकै चरणमा शान्तिपूर्ण, निश्पक्ष र धाधलीरहित वातावरणमा आगामी फागुन २१ को निर्वाचन विगतको भन्दा उत्कृट हुनेछ ।”

देश अहिले निर्वाचनको माहोलमा होमिएकाले निर्वाचन सबै नेपालीको साझा चाहना भएको उहाँको भनाई । अहिलेको सरकार चुनाव गराउन भएकाले अधिकतम मतदाताको सहभागितामा चुनाव सम्पन्न गर्न सोही अनुसार माहोल तयार गर्दै आइरहेको मन्त्री अर्यालले जानकारी दिनुभयो । त्यसका लागी उम्मेदवारी दर्ता पश्चात दल र उम्मेदवारहरु मतदाता समक्ष मत माग्न पुगेको र मतदाता पनि उत्साहित भइरहेकाले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सबैको सहयोगमा चुनाव हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । जेन्जी आन्दोलन पश्चात लुटिएका हतियार र फरार भएका कैदीबन्दी अधिकांश फिर्ताको क्रममा रहेकाले त्यसको कारण चुनावमा कुनै असर नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

“अहिलेको सरकारले स्वतन्त्र, निपश्च र धाधली रहित रुपमा चुनाव सम्पन्न गराउन सोही अनुसारको व्यवहार र आचरणमा रहेको छ ।”गृहमन्त्री अर्यालले भन्नुभयो “शान्ति सुरक्षा कायम गर्न र निर्वाचन आचारसंहिताको पालना गर्दै सौहार्दपूर्ण वतावरण बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण छ ।”


नुवाकोटको आवगामनको क्रममा उहाँले मुख्यनिर्वाचन अधिकृतको कार्यालय र जिल्लाको सुरक्षा निकायका प्रमुखहरुसंगको छलफलमा यहाँको सुरक्षा अबस्थाको जानकारी, निर्वाचन आचारसंहिता कार्यान्वयनको अबस्था र निर्वाचन प्रहरीको तालिमको समेत अवलोकन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web