नुवाकोट । तारकेश्वर गाउँपालिका–१, सेलडाँडा देउरालीमा देउराली गुरु डामर गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले स्थानिय बौद्ध धर्मावलम्बीहरू दाङसिङ, सेलडाँडा, लर्केप, फलाटे र जन्तरेका लामो समयदेखि माग गर्दै आएको इच्छाअनुसार पवित्रस्थल देउराली डाँडामा गुम्बा निर्माणको शुभारम्भ गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा अध्यक्ष अधिकारीले भन्नुभयो, “धर्म र संस्कृति मानव समाजको आत्मा हुन्। संसारभरि धर्म टिकिरहँदा, हामी सबैले हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु मात्र होइन, समाजमा धार्मिक सहअस्तित्व, आपसी सम्मान र सद्भावना प्रवर्धन गर्नुपर्ने छ।”

गाउँपालिकाको बजेटबाट निर्माण सुरु गरिएको गुम्बाको भव्य स्वरूपका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै आवश्यक सहयोग जुटाइने अध्यक्ष अधिकारीले बताउनुभयो।
स्थानीय बासिन्दा, विशेषगरी तामाङ समुदायका सदस्यहरू लामो समयदेखि प्रतिक्षा गर्दै आएको गुम्बा निर्माण अघि बढेकोमा अत्यन्त उत्साहित देखिनुभयो।
यस गुम्बाको निर्माणले क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचान बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
29.12¡ÆC