
नुवाकोट । केन्द्रीय कारागार नुवाकोटमा बाल सुधार केन्द्र स्थापना गरिएको छ ।
केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लक नं ३ को भवनमा आवश्यक बन्दोबस्ती सहित स्थापना गरिएको केन्द्रमा देशका विभिन्न बाल सुधार केन्द्रमा क्षमता भन्दाबढी रहेका बाल बिज्याइँकर्तालाई ल्याउने लक्ष्य सहित तत्कालको लाग एकसय पचास जना क्षमताको केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापना भएसगैँ बाल सुधार केन्द्र भक्तपुरमा रहेका ७५ जना बाल बिज्याइँकर्तालाई स्थान्तरण गरेर नुवाकोट ल्याइएको कारागार प्रमुख भेषबहादुर कुंवरले जानकारी दिनुभयो । उहाँको अनुसार गत पुस ३ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन अन्तरगत बाल सुधार केन्द्र भक्तपुरमा रहेका मध्ये पहिलो चरणमा अहिले पचहत्तर जनालाई केन्द्रीय कारागारमा निर्माण गरिएको केन्द्रमा ल्याइएको छ ।
उक्त ब्लकमा तत्कालका लागी करीब एकसय पचास जना बाल बिज्याइँकर्ता राख्नपुग्ने संरचना तयार गरिएकाले बाँकीलाई पनि क्रमशः ल्याउन लागिएको उहाँको भनाई छ ।
अहिले ल्याइएको बाल बिज्याइँकर्ता सबैजना १८ वर्ष उमेर पूरा भइसकेका, संलग्न घटनामा दोषी पुष्टि भएर बाल सुधार केन्द्र पठाउन सिफारिस भएका पुरुषहरु रहेका छन् । बाल बिज्याइँकर्ता राख्न एउटा केन्द्रीय कारागार नुवाकोटमा अहिले एकमात्र भवन भएकाले तत्कालको लागी बालक (पुरुष)हरुलाई मात्र स्थान्तरण गर्न लागिएको छ ।
देशका विभिन्न नौ स्थानमा सञ्चालित बाल सुधार केन्द्रमा क्षमता भन्दाबढी भएका बाल बिज्याइँकर्तालाई तत्कालै नुवाकोट स्थान्तरण गर्ने निर्णय गत पुस ३ मा मन्त्रिपरिषद्बाट भएपनि उनीहरुको लागी आवश्यक सुविधा सहितको बन्दोबस्ती मिलाउन समय लागेको हो । कारागारमा निर्माण गरिएका मध्ये छुट्टै स्थानमा रहेको भवन (ब्लक नं ३) मा नेपाल प्रहरीको सुरक्षा पहरामा तोकिएका मापदण्डको सुविधा सहित बाल बिज्याइँकर्तालाई स्थान्तरण गरेर ल्याइएको हो ।
उनीहरुलाई बन्दोबस्ती सहितको सुविधा उपलब्ध गराउने कार्य तत्कालका लागी केन्द्रीय कारागार नुवाकोट मार्फत भएपनि केही दिनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत प्रतिनिधि खटाई हुने प्रबन्ध मिलाइने उल्लेख छ ।
-रामहरि न्यौपाने
13.12¡ÆC