झिल्टुङ क्रसकन्ट्री दौडः पहाडी जीवनलाई चिनाउदै खेलाडी उत्पादनमा योगदान

माघ ११, २०८२ मा प्रकाशित | 112 views


-रामहरि न्यौपाने
नुवाकोट । महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार रसुवाको गोसाईकुण्डभन्दा नुवाकोटको झिल्टुङ पहाडी जीवनका लागी उत्कृष्ट स्थल रहेको सन्देश दिने लक्ष्य सहित आयोजित ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको दशौँ सँस्करण शनिबार सम्पन्न भएको छ ।

“जे गरौ : गज्जबले गरौ” नारा सहित बेलकोटगढी नगरपालिकाको गौरवको योजना अन्तरगत पालिकास्तरीय पर्वको रुपमा तीन दिनसम्म सञ्चालन गरिएको प्रतिस्पर्धामा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रियस्तरका सहित चारसय धावकहरुको सहभागितामा झिल्टुङ दौड सम्पन्न भएको हो ।

बेलकोटगढी नगरपालिकामा पर्ने साविकको दुईपिपल, जिलिङ र रातमाटे गाविसको भूमिको पहिचान रहेको झिल्टुङमा पहाडी जीवनको लागी उत्कृष्ट थलोमा दौड प्रतियोगिता मार्फत खेल क्षेत्रको विकास सहित पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउदै आएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो । उहाँको अनुसार अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडी सहित, भेट्रान, खुला छात्र–छात्रा, स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह) सहितको विभिन्न दश बिधामा देभरका ३८ जिल्लाका चारसय भन्दाबढी खेलाडी–धावकले प्रतिस्पर्धा गरेका छन् ।


“नुवाकोटको भूमिबाट तारुकाको गोरु जुधाईले ‘स्पेनको बुल फाइट’को झल्को बिर्साउदै आएजस्तै बेलकोटगढीको झिल्टुङ दौड प्रतियोगिताले गाँउघरका महिलादेखि दौडबाटै अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाई समेत आकर्षित गराउने महत्वपूर्ण अवसर जुराएको छ ।” नगरप्रमुख गुरुङले भन्नुभयो “खेल–पर्यटनको प्रबद्र्धन, पहाडी पदमार्गको निर्माण, दौडेर नाम राख्न सकिने रहेछ भन्ने सन्देशदेखि सुरक्षा निकायमा सेवा प्रवेशका लागी क्षमतावान जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।”

प्रतिस्पर्धामा सहभागी खेलाडीले अघिल्ला वर्षका कीर्तिमानी तोड्दै झिल्टुङ दौडबाट नयाँ सन्देश दिन सफल भएको खेलको प्राविधिक पक्षको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीको भनाई छ ।

“दौडका विभिन्न दश बिधा मध्ये ‘आमा’ समूह र ‘बा’समूहबाट हुने सहभागिता देशभरमा नै रोचक पक्ष मानिन्छ ।” उहाँले भन्नुभयो “प्रतियोगिताले खेल क्षेत्र सहित समग्र पक्षलाई रोचक बनाउदै आएको छ ।”

ग्रामीण क्षेत्रमा पर्ने यस ठाँउका महिलाहरु घरको चुलोचौका र घाँस दाउरामा सिमित हुने आमाहरुलाई घरबाट बाहिर निस्कने अबसर मात्रै होइन प्रतियोगिताले पुरषसरह प्रतिस्पर्धामा अघि बढ्न सहयोग पुगेको प्रतियोगिताको सस्थापक स्थानीय समाजसेवी मोहन नोपलले बताउनुभयो ।

झिल्टुङको प्रचारका लागी महादेव माध्यमिक विद्यालयले सुरु गरेको दौड प्रतियोगिता स्थानीय सरकार स्थापना भएसगैँ बेलकोटगढी नगरपालिकाको वडा नं. ५ को कार्यालय हुदैँ अहिले नगरपालिकाले पालिकास्तरीय पर्वको रुपमा मनाउन सुरु गरेको छ । विगतका वर्षमा एकदिनमा सम्पन्न हुने प्रतियोगिता यो वर्ष बिहीबारदेखि सुरु भएर आज शनिबार (तीनदिन) सम्पन्न भएको हो ।

कुन विधामा को उत्कृष्ट भयो, निर्धारित दूरी पार गर्न कति लाग्यो ? हेनुहोस् विस्तृतमा:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web