
नुवाकोट । स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाको गुणस्तर सुनिश्चित गर्न लागू गरिएको न्यूनतम मापदण्ड सेवा मूल्याङ्कन (Minimum Service Standard Evaluation–MSS) अन्तर्गत त्रिशूली अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको छ। हालै सम्पन्न मूल्याङ्कनमा अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गर्दै अघिल्लो मूल्याङ्कनको तुलनामा सेवा स्तरमा सुधार गरेको देखिएको छ। यसअघि अस्पतालले ८१ प्रतिशत अंक प्राप्त गरेको थियो।
शुक्रबार आयोजित कार्यक्रममा मूल्याङ्कन समितिका सदस्य तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रामचन्द्र सापकोटाले एमएसएस मूल्याङ्कन नतिजा सार्वजनिक गर्दै त्रिशूली अस्पतालले सेवा प्रवाह, व्यवस्थापन र सुशासनका विभिन्न सूचकमा सुधार देखाएको बताउनुभयो।
न्यूनतम मापदण्ड सेवा मूल्याङ्कन (एमएसएस) स्वास्थ्य संस्थाहरूले नागरिकलाई प्रदान गर्ने सेवामा न्यूनतम आधारभूत मापदण्ड पूरा भए–नभएको सुनिश्चित गर्ने प्रणाली हो। यसको कार्यान्वयन र मूल्याङ्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्थानीय तहको समन्वयमा नियमित अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणमार्फत गरिन्छ। यस कार्यक्रमको उद्देश्य सबै नागरिकलाई समान, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ वटै जिल्लाका सरकारी अस्पतालहरूमा सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा, आपतकालीन तथा बाहिरंग सेवा, फोहरमैला व्यवस्थापनलगायत सहयोगी सेवाका आधारमा एमएसएस कार्यक्रमअन्तर्गत अनुगमन तथा मूल्याङ्कन गर्दै आएको छ।
सोही मूल्याङ्कनअनुसार त्रिशूली अस्पतालले आपतकालीन सेवामा ८८.७३ प्रतिशत, बाहिरंग सेवामा ८५.७१ प्रतिशत र आईसीयू सेवामा ८४.८४ प्रतिशत उपलब्धि हासिल गरेको छ। साथै शासन प्रणालीमा ९६ प्रतिशत र सुशासन तथा व्यवस्थापन सूचकमा ९२ प्रतिशत अंक प्राप्त गरेको छ। संगठनात्मक व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा मेडिकल रेकर्ड व्यवस्थापनमा भने अस्पतालले शत प्रतिशत अंक हासिल गर्न सफल भएको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले खुसी व्यक्त गर्नुभयो । उहाँ अध्यक्ष भएको एक वर्षको अवधिमा अस्पतालका सेवा प्रवाहमा गरिएको सुधारका कारण सूचाङ्कमा समेत देखिएको सुधारले थप उत्साह जगाएको भन्दै आगामी दिनमा अझै थप सुधार एंव सेवा प्रवाहलाई गुणस्तरीय बनाउदै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
एमएसएस मूल्याङ्कनको नतिजाले त्रिशूली अस्पतालको व्यवस्थापन क्षमता र सेवा गुणस्तर दुवै पक्ष सुदृढ हुँदै गएको देखाएको छ। यसले अस्पताललाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउँदै लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाको भनाई छ ।
न्यूनतम मापदण्ड सेवा मूल्याङ्कनको नतिजा सार्वजनिक गर्न आयोजित कार्यक्रममा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, अस्पतालको निर्देशक सहित स्वास्थ्यकर्मी, कर्मचारी सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
17.12C