तारुकाको गोरु जुधाईको स्वामित्व गाउँपालिकाबाट ग्रहण,अध्यक्ष अधिकारीद्वारा आभार प्रकट

माघ १, २०८२ मा प्रकाशित | 194 views

नुवाकोट । गोरु जुधाई परम्पराको उद्गमथलो तारुका चन्दनीको गोरुजुधाई प्रदर्शनी एंव माघे संक्रान्ति मेला-२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले मेलालाई राजनीतिक दाउपेच र भाषणबाजीबाट मुक्त बनाउदै विशुद्ध सांस्कृतिक र मनोरञ्जनात्मक पर्वका रुपमा यसवर्षदेखि पालिकाले स्वामित्व ग्रहण गरेसगैँ सभ्य र भव्य रुपमा सम्पन्न भएको हो ।

अध्यक्ष अधिकारीले गोरु जुधाई मेला र परम्परा मनाउन आफूले गरेको आग्रह अनुरूप सांस्कृतिक सर्वोच्चता कायम राख्दै सभ्य, भव्य र मनोरम ढङ्गले मेला सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै मेला व्यवस्थापनमा खटिनुभएका वडाका जनप्रतिनिधि, कर्मचारी, गोरुपालाक किसान, स्थानीय समाजसेवी, स्वयंसेवक तथा मेलामा पाल्नुभएका सम्पूर्ण लब्धप्रतिष्ठित आगन्तुक व्यक्तित्वहरूप्रति हार्दिक बधाई तथा आभार प्रकट गर्नुभयो ।

तारकेश्वर-३ को चन्दनी कटरबोटमा सदियौंदेखि माघे संक्रान्तिका दिन आयोजना हुँदै आएको ऐतिहासिक गोरु जुधाइ प्रतियोगितासहितको सांस्कृतिक मेलालाई भव्य, सभ्य, मनोरम र राजनीतिक विभाजनमुक्त पर्वका रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष अधिकारीले निम्नलिखित बुँदाहरूमा सुझाव दिनुभएको छ ।

१. गोरु जुधाई मेलामा अतिथिहरूलाई प्रमुख, विशिष्ट, विशेष र साधारण भनेर विभाजन नगरी मेलामा उपस्थित सम्पूर्ण आगन्तुकलाई एकमुष्ट र समान हैसियतमा यथास्थानमा आतिथ्य ग्रहण गराउने ।

२. मेलामा गोरु जुधाइ प्रतियोगिता, सांस्कृतिक झाँकीहरू र सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू मात्रै समावेश गर्ने । भाषणको कार्यक्रम नराख्ने ।

३. प्रतियोगितामा सहभागी गोरुधनीहरूलाई तत्कालै प्रतियोगिताकै बीच पुरस्कार वितरण गर्ने ।

४. पुरस्कार वितरण र सांस्कृतिक झाँकी प्रदर्शनका लागि बनाइने मञ्च स्थानीय खाटहरूको प्रयाेग गरी किफायती ढङ्गले निर्माण गर्ने ।

५. प्रतियोगिताको व्यवस्थापन किसानहरूसँगको समन्वयमा सम्बन्धित वडाले गर्ने । प्रतियोगितालाई राजनीतिक छायाँबाट पूर्णरूपमा अलग राख्ने ।

राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको तारकेश्वरको माघेसंक्रान्ति मेलामा पछिल्लो समय राजनीतिक विभाजन, दाउपेच तथा घोचपेच र दर्जनौं अतिथिहरूको लामा लामा राजनीतिक भाषणले मनोरञ्जनात्मक सांस्कृतिक पर्वको उद्देश्यभन्दा टाढा पुगिरहेको गुनासो आउन थालेपछि अध्यक्ष अधिकारीले सदियौं पुरानो पर्वलाई पुरानै ढाँचामा पुन:स्थापित गरी यस पर्वको एकात्मकता र सांस्कृतिक गरिमा कायम राख्ने प्रयास स्वरूप यस्तो पहल कदमी लिनुभएको हो ।

अध्यक्ष अधिकारीको आग्रहअनुरूप नै आजको माघेसंक्रान्ति मेला आसन र भाषण मुक्त विशुद्ध सांस्कृतिक उत्सवका रूपमा सम्पन्न भएको हो । अध्यक्ष अधिकारीले आगामी वर्षदेखि यो उत्सवलाई महोत्सवका रूपमा सञ्चालन गर्ने योजनामा स्थानीय सरकारले काम गरिरहेको बताउनुभएको छ ।

दलीय संयन्त्रको समितिलाई पालिकाले विगतमा पनि आर्थिक सहितको सहयोग नियमित उपलब्ध गराउदै आएपनि मेला सञ्चालन विविध कारणले पालिकाको नियन्त्रण बाहिर हुने गरेको थियो ।

यसपटकको मेला व्यवस्थापन र पुरस्कारका लागि गाउँपालिकाले रु. ४ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web