बाल सुधार केन्द्र सञ्चालन ढुङ्गेमा गरिने, केन्द्रीय कारागार ‘उपयुक्त देखिएन’

पुस २१, २०८२ मा प्रकाशित
Published at पुस २१, २०८२

129 views

-पुजना खतिवडा,
विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने मन्त्रिपरिषरद् निर्णय कार्यान्वयनमा समस्या भएसगैँ स्थान परिवर्तन गरिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ सहित नुवाकोटको जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारावालाहरुको आइतबारको सयुक्त अनुगमन पश्चात बाल सुधार केन्द्र केन्द्रीय कारागारबाट स्थान्तरणको तयारी थालिएको हो ।

यही पुस ३ गते मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेपनि उक्त स्थानमा बालअधिकारका तोकिएका मापदण्ड पूरा गर्न सक्ने अबस्था नभएसगैँ जिल्ला कारागारको खाली भएको भवनमा केन्द्र स्थापनाको लागी तयारीमा लाग्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।

मन्त्री सहित निरीक्षण टोलीमा विदुरको नगरप्रमुख राजन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, केन्द्रीय कारागार कार्यालय र सघन शहरी तथा भवन निर्माण योजना कार्यालय धादिङका प्रमुख लगायत सरोकारवाला सहभागी हुनुहुन्थ्यो ।

मन्त्री सहित जिल्ला स्थित स्थानीयतहका प्रमुख, सुरक्षा निकाय सहितका सरोकारवालाहरुसंग सयुक्त रुपमा गरिएको अनुगमन र त्यसपश्चातको सयुक्त छलफल पश्चात केन्द्रीय कारागारमा ब्लक प्रवेशको एकमात्र द्धार भएको, कैदीबन्दीका लागी खटिएका सुरक्षाकर्मीको घेरा भित्र नै उक्त ब्लक कायम रहेको, ब्लक भित्रको संरचना कैदीबन्दी प्रयोजनको लागी निर्माण गरिएको हुदाँ बाल बिज्याइँकर्ता राख्न उक्त स्थान उपयुक्त नभएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार भक्तपुर लगायतका जिल्लाका बाल बिज्याइँकर्ता राख्न स्थान अभाव भएकाले तत्कालै विदुर–१ स्थित नुवाकोट जिल्ला कारागारको खाली भएको भवनलाई स्तरउन्नती गरेर केन्द्र सञ्चालन गर्न लागिएको छ । त्यसका लागी आवश्यक संरचना निर्माण कार्य एकमहिना भित्र पूरा गर्न मातहतका सम्बन्धित निकायहरु उहाँले निर्देशन दिनुभयो ।

“बाल सुधार केन्द्रको सुरक्षामा हातहतियार बिनाका सादा पोषाकका सुरक्षाकर्मी खटिनुपर्न पर्ने हुन्छ, केन्द्रीय कारागारमा त्यो कार्यान्वयन गर्न सम्भव हुने देखिएन ।” मन्त्री श्रेष्ठले भन्नुभयो “बालबालिकाको मानवअधिकार अन्तरगतका शिक्षा, स्वास्थ्य उपचार लगायतका मापदण्ड पूरा गर्न केन्द्रीय कारागारमा तत्कालै उपलब्ध गराउन सक्ने अबस्था नभएकाले स्थान्तरण आवश्यक भएको हो ।”

नुवाकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीहरु विसं २०८१ भदौ १५ मा केन्द्रीय कारागार सञ्चालनमा आएसगैँ स्थान्तरण गरिएकाले उक्त स्थानमा खाली भएका ब्लकलाई बाल बिज्याइँकर्ता राख्न बालसुधार केन्द्रको रुपमा सञ्चालन गरिने भएको छ । यस सम्बन्धि आवश्यक निर्णय सम्बन्धित निकायबाट गराउने मन्त्रिबाट प्रतिबद्धता आएसगैँ कार्य प्रारम्भ सुरु गर्न थालिएको छ । आवश्यक संरचना अबको एक महिनाभित्र सम्पन्न गर्दै करीब एकसय ६० बाल बिज्याइँकर्ता नुवाकोट ल्याउने योजना रहेको छ ।

ढुङ्गे स्थित जिल्ला कागागारमा रहेका संरचनाको मर्मतसम्भार एंव रङ्गरोगन सुरु गर्न मन्त्री श्रेष्ठले सघन शहरी तथा भवन निर्माण योजना कार्यालय धादिङका प्रमुखलाई निर्देशन दिनुभएको छ । त्यसका लागी दिइएको एक महिनामा काम सम्पन्न हुने गरेर अिघ बढ्न भन्नुभयो ।

हाल देशका विभिन्न नौ स्थानमा बालसुधार केन्द्र सञ्चालनमा रहेकाले त्यसमध्ये बालक रहदाँ गरेका गल्तीबाट बाल बिज्याइँकर्ता ठहरिएर १८ वर्ष उमेर पूरा भएका पुरुष (बालक)लाई नुवाकोट स्थित केन्द्रमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web