समानुपातिक बन्दसूची रुजु कार्य सम्पन्न, गल्ती सच्याउने समय पुस २७ गतेसम्म

पुस २०, २०८२ मा प्रकाशित | 193 views


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।

आयोगको तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्ती मगरका अनुसार पुस १६ गतेदेखि आजसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातको जाँच गरिएको हो । रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आजै बेलुकासम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने छ । भाेलिदेखि यही पुस २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने उहाँले बताउनुभयो ।

समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारहरूले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिश गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने तथ्याङ्क शाखाका निर्देशक मगरले जानकारी दिनुभयो ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ६० दिन बाँकी छ । संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र मुख्य दलहरूमा चुनाव हुने/नहुनेबारेको आशङ्काकै बीच चुनावका कामहरू तीव्र रूपमा भइरहेका छन् ।

विशेषगरी निर्वाचन आयोगले आफ्नो पूर्वनिर्धारित कार्यतालिका अनुसार काम गरिरहेको छ भने सरकारले पनि सुरक्षाको बन्दोबस्त, आयोगलाई खर्च उपलब्ध गराउने, दलहरूसँग छलफल लगायतका कामलाई प्राथामिकताका साथ गरिरहेको छ ।

मुख्य सबै दलसहितका ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले माघ ६ गते गर्ने प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि गर्नुपर्ने काम समय अनुसार भइरहेका जनाएको छ । दलहरूले पनि निर्वाचन क्षेत्रबाट सिफारिशको काम गरिरहेका छन् ।

आयोगले आचारसंहिता बनाइसकेको छ । मतदाता नामावली र परिचयपत्र छपाइ तथा आवश्यक सामग्री खरिद प्रक्रिया शुरू भइसकेको पनि आयोगले जनाएको छ । यसरी प्राविधिक रूपमा आयोग र सरकारले समय तालिका अनुसार काम गरिरहेका छन् । दलहरूले पनि आयोगको तालिका पछ्याएको पाइन्छ । तर अझै पनि संसद् पुनर्स्थापना हुन सक्ने आशामा एकाथरि देखिन्छन् भने मुख्य दलहरूले सरकारले चुनावको वातावरण बनाइनसकेको आरोप लगाइरहेका छन् ।

तर चुनावका लागि बाटो सफा हुँदै गएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताउनुभयो । उहाँका अनुसार नयाँ पुराना दलका गतिविधिहरूले चुनावी वातावरण बनेको छ भने सरकारले गरेका छलफलहरूले आशङ्का मेटिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web