माघे संक्रान्ति मेलालाई विशुद्ध सांस्कृतिक पर्वका रूपमा मनाउन अध्यक्ष अधिकारीको पहल

पुस १८, २०८२ मा प्रकाशित
Published at पुस १८, २०८२

324 views

नुवाकोट । माघे सक्रान्ति पर्वको अवसरमा तारेश्वर गाउँपालिका–३ स्थित चन्दनीमा गोरु जुधाईने पर्वलाई विशुद्ध साँस्कृतिक एंव मनोरञ्जनात्मक पर्वको रुपमा सञ्चालनमा जोड दिइने भएको छ । विगतमा वर्षमा लाग्ने मेलामा राजनीतिक आक्षेपहरु भएसगैँ यसवर्ष गाउँपालिकाले त्यसलाई मुक्त बनाउने प्रयास थालेको हो ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले तारकेश्वरको गौरव माघे संक्रान्ति मेलालाई राजनीतिक दाउपेच र भाषणबाजीबाट मुक्त गरी विशुद्ध सांस्कृतिक र मनोरञ्जनात्मक पर्वका रुपमा मनाउन आग्रह गर्नुभएको छ ।

तारकेश्वर ३ को चन्दनी कटरबोटमा सदियौंदेखि माघे संक्रान्तिका दिन (माघ १ गते) आयोजना हुँदै आएको ऐतिहासिक गोरु जुधाई प्रतियोगितासहितको सांस्कृतिक मेलालाई भव्य, सभ्य, मनोरम र राजनीतिक विभाजनमुक्त पर्वका रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष अधिकारीले निम्नलिखित बुँदाहरूमा सुझाव दिनुभएको हो ।

१. गोरु जुधाई मेलामा अतिथिहरूलाई प्रमुख, विशिष्ट, विशेष र साधारण भनेर विभाजन नगरी मेलामा उपस्थित सम्पूर्ण आगन्तुकलाई एकमुष्ट र समान हैसियतमा यथास्थानमा आतिथ्य ग्रहण गराउने ।

२. मेलामा गोरु जुधाइ प्रतियोगिता, सांस्कृतिक झाँकीहरू र सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू मात्रै समावेश गर्ने । भाषणको कार्यक्रम नराख्ने ।
३. प्रतियोगितामा सहभागी गोरुधनीहरूलाई तत्कालै प्रतियोगिताकै बीच पुरस्कार वितरण गर्ने ।
४. पुरस्कार वितरण र सांस्कृतिक झाँकी प्रदर्शनका लागि बनाइने मञ्च स्थानीय खाटहरूको प्रयाेग गरी किफायती ढङ्गले निर्माण गर्ने ।
५. प्रतियोगिताको व्यवस्थापन किसानहरूसँगको समन्वयमा सम्बन्धित वडाले गर्ने । प्रतियोगितालाई राजनीतिक छायाँबाट पूर्णरूपमा अलग राख्ने ।

पर्व सञ्चालनको लागी गाउँपालिकाबाट ४ लाख बजेट उपलब्ध:

राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको तारकेश्वरको माघेसंक्रान्ति मेलामा पछिल्लो समय राजनीतिक विभाजन, दाउपेच तथा घोचपेच र दर्जनौं अतिथिहरूको लामा लामा राजनीतिक भाषणले मनोरञ्जनात्मक सांस्कृतिक पर्वको उद्देश्यभन्दा टाढा पुगिरहेको गुनासो आउन थालेपछि अध्यक्ष अधिकारीले सदियौं पुरानो पर्वलाई पुरानै ढाँचामा पुन:स्थापित गरी यस पर्वको एकात्मकता र सांस्कृतिक गरिमा कायम राख्ने प्रयास स्वरूप यस्तो पहल कदमी लिनुभएको हो । मेला व्यवस्थापन र पुरस्कारका लागि गाउँपालिकाले रु. ४ लाख बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web