तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना

पुस १६, २०८२ मा प्रकाशित | 227 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले गत कार्तिक महिनामा परेको अविरल वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई राहत दिन ५० लाख रुपैयाँको धानबाली क्षतिपूर्ति कोष स्थापना गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को प्रस्तावमा कोष खडा गर्ने निर्णय गरेको हो ।

कोषमा तत्काल १० लाख रुपैयाँ जम्मा गरिने र अन्य शीर्षकबाट बजेट जोहो गरी बाँकी ४० लाख थप गरेर ५० लाख पुर्‍याइने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

गत कार्तिक महिनामा चार–पाँच दिनसम्म लगातार परेको वर्षाका कारण काटिसकेको धानसमेत खेतमै क्षतिग्रस्त भएको थियो । वर्षा रोकिएको २४ घण्टाभित्रै अध्यक्ष अधिकारीको निर्देशनमा गाउँपालिकाका प्राविधिक टोलीले सबै वडाका धानखेती क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलन गरेका थिए ।संकलित क्षतिको विवरणका आधारमा प्रभावित किसानलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन लागिएको हो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “किसानको श्रम, पसिना र आशा धानबालीसँग जोडिएको हुन्छ। अविरल वर्षाका कारण काटिसकेको धानसमेत नष्ट हुँदा किसान ठूलो मारमा परेका छन्। स्थानीय सरकारको हैसियतले यस्तो संकटको घडीमा किसानलाई एक्लै छोड्न सकिँदैन भन्ने मान्यताका साथ यो क्षतिपूर्ति कोष स्थापना गरिएको हो।”

संकलित तथ्यांकका आधारमा वास्तविक पीडित किसानलाई प्राथमिकतामा राखेर पारदर्शी र न्यायोचित ढंगले क्षतिपूर्ति वितरण गरिने उहाँले स्पष्ट पार्नुभयो ।

“अहिले गठन गरिएको कोष तत्कालको राहतका लागि मात्रै होइन, भविष्यमा सम्भावित प्राकृतिक विपद्बाट कृषकलाई जोगाउने दीर्घकालीन सोचका साथ अघि बढाइएको पहल हो। अध्यक्ष अधिकारीले भन्नुभयो “आगामी दिनमा कृषि बिमा, पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web