चक्रदेवी आवीलाई भवन निर्माण र शैक्षिक सुधारका लागि ३ लाख ५० हजार सहयोग घोषणा

पुस १६, २०८२ मा प्रकाशित
Published at पुस १६, २०८२

110 views

नुवाकोट । तारकेश्वर गाउँपालिका–५ निग्लिनी स्थित काभ्रेमा रहेको चक्रदेवी आधारभूत विद्यालयमा आयोजित ‘गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी विशेष भेटघाट कार्यक्रम’लाई सम्बोधन गर्दै तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले विद्यालयको जीर्ण भवन पुनर्निर्माणका लागि थप सहयोग घोषणा गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले यसअघि विनियोजन गरिएको २ लाख रुपैयाँ बजेटमा २ लाख रुपैयाँ थप गरी कुल ४ लाख रुपैयाँमध्ये तत्काल ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्वता जनाउनुभयो । रकमको सुनिश्चित भएकाले यथाशीघ्र विद्यालय भवन पुनर्निर्माणको काम अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक सुधारका लागि १ लाख रुपैयाँ र विद्यार्थीलाई ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको प्रत्यक्ष अवलोकन गराउँदै सिकाउने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमणका लागि ५० हजार रुपैयाँ सहयोग तत्काल उपलब्ध गराउने घोषणा गर्नुभयो ।

स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीचको आपसी सहयोग तथा समन्वयबाट मात्र विद्यालयको समग्र उन्नति सम्भव हुने उल्लेख गर्दै अध्यक्ष अधिकारीले अभिभावकहरूले आफ्ना नानीहरूको भविष्यप्रति संवेदनशील भई विद्यालयसँग निरन्तर समन्वय र खबरदारी गर्नुपर्ने बताउनुभयो ।

बालकेन्द्रित र प्रविधिमैत्री शिक्षामा जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूले निरन्तर सिक्दै बदलिँदो समयअनुसार आफूलाई विकास गर्दै जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकासमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै व्यवस्थापकीय र शैक्षणिक गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी विद्यालय व्यवस्थापन र शिक्षक वर्गको हुने बताउनुभयो ।

अध्यक्ष अधिकारी निर्वाचित भएयता तारकेश्वर गाउँपालिकाले अभिभावक र विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयहरूको आवश्यकता र कमजोरी पहिचान गरी शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी विशेष भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष अधिकारीले “शिक्षामा लहर, अभिभावक भेट्ने रहर” भन्ने नारासहित यो शैक्षिक सुधार अभियानलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web