अध्यक्ष अधिकारीद्वारा वडा नं. ३ का आमा तथा बा समूहलाई ९ लाख रुपैयाँ सहयोग

पुस १२, २०८२ मा प्रकाशित | 244 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ३ मा क्रियाशील आमा तथा बा समूहलाई महिला तथा ज्येष्ठ नागरिक सशक्तीकरणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले आफू अध्यक्ष हुनुअघिदेखि नै सञ्चालन गर्दै आउनुभएको महिला सशक्तीकरण अभियान अन्तर्गत वडा नं. ३ मा गठन भएका १४ वटा आमा समूहसँगै हालसालै गठन भएका १ आमा समूह र १ बा समूहलाई गाउँपालिकाको महिला तथा ज्येष्ठ नागरिक विशेष कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

शुक्रबार खानीगाउँस्थित पिपलडाँडा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले पुराना १४ आमा समूहलाई प्रति समूह ५० हजार रुपैयाँ तथा नयाँ आमा समूह र बा समूहलाई प्रति समूह १ लाख रुपैयाँ का दरले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले महिला स्वावलम्बन, जीविकोपार्जन, साक्षरता अभिवृद्धि तथा ज्येष्ठ नागरिकको सम्मानलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । आमा तथा बा समूहको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न आमा तथा बा समूहका प्रतिनिधि, विद्यालय परिवार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web