अध्यक्ष अधिकारीद्वारा बागेश्वरी आविलाई करिब ३ लाख सहयोग घोषणा, ६ आमा समूहलाई ३ लाख सहयोग घोषणा

पुस ४, २०८२ मा प्रकाशित | 392 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ६ स्थित बागेश्वरी आधारभूत विद्यालयमा आयोजित अध्यक्षसँग बा–आमा तथा छोराछोरी विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले शिक्षा, पूर्वाधार र महिला सशक्तीकरणका लागि करिब ३ लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।

विद्यालय जाने बाटो जोखिमपूर्ण रहेको भन्दै बालबालिकाको सुरक्षाका लागि दुई खम्बादेखि विद्यालयसम्मको सडक झाडी फडानी, चौडा तथा ग्राभेल गर्न तत्काल १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष अधिकारीले घोषणा गर्नुभएको ।
यस्तै, शैक्षिक सुधारका लागि १ लाख र विद्यार्थीहरूलाई ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक स्थलहरूको अध्ययन अवलोकन भ्रमण गराउने उद्देश्यले थप ७० हजार रुपैयाँ सहयोग गर्ने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

उहाँले विद्यालयमा खानेपानी व्यवस्थापनका लागि आवश्यक वाटर लिफ्टिङ मेसिन गाउँपालिकाबाट उपलब्ध गराइने र त्यसको व्यवस्थापन स्टोर शाखासँग समन्वय गरी अघि बढाइने जानकारी दिनुभएको छ ।

त्यसैगरी, अध्यक्ष अधिकारीले आफू अध्यक्ष हुनुअघि महिला सशक्तीकरण अभियानअन्तर्गत गठन गरिएका वडा नं. ६ का ६ आमा समूहलाई आयआर्जन, जीविकोपार्जन र स्वावलम्बनका लागि प्रतिगोटा ५० हजारका दरले कुल ३ लाख रुपैयाँ सहयोग घोषणा गर्नुभयो ।

विद्यालयको उन्नति शिक्षक, अभिभावक, व्यवस्थापन र सरकारबीचको समन्वयबाट मात्र सम्भव हुने उल्लेख गर्दै उहाँले अभिभावकहरूलाई पनि आफ्ना नानीहरूको शैक्षिक गतिविधिमा चासो र मार्गदर्शन दिन आग्रह गर्नुभएको छ ।
“परम्परागत शिक्षणशैलीभन्दा प्रविधिमैत्री र समयसापेक्ष शिक्षामा जोड दिनुपर्छ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “सूचना प्रविधिसम्बन्धी तालिम एंवम् कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीको सहयोग आवश्यक निरन्तर हुनेछ ।”

कार्यक्रममा उहाँले “शैक्षिक लहर, अभिभावक भेट्ने रहर” भन्ने नारासहित शिक्षामा नयाँ लहर सिर्जना गर्न यस्तो भेटघाट कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web