
नुवाकोट । विदुर नगरपालिका वडा नं ५ को कार्यालयले वडा भित्र सञ्चालित विद्यालयहरुबाट गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, प्रधानाध्यापक र विषयगत शिक्षकलाई सम्मान गरेको छ।
वडाध्यक्ष लिलानाथ न्यौपानेको सभापतित्व तथा नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ए प्लस ल्याउने ६ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ, ए ल्याउने ३१ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद र दोसल्ला ओढाई सम्मान गरिएको हो।
उत्कृष्ट विद्यालयको रुपमा संस्कृति माविका प्रधानध्यापक मञ्जु चित्रकारलाई ९ हजार रुपैयाँसहित सम्मान गरिएको छ। यस्तै, विषयगत उत्कृष्ट शिक्षक अन्तर्गत अंग्रेजी विषयका शिक्षक मणिराज केरुङ र शिक्षाशास्त्र विषयकी कविता डंगोललाई जनही २ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख राजन श्रेष्ठले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीको भविष्य उज्यालो बनाउने कार्यमा नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले यस्ता सम्मान कार्यक्रमले विद्यार्थी तथा शिक्षकलाई अझ मेहनत गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै नगरभित्रका सम्पूर्ण विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर पहल गरिने बताउनुभयो
कार्यक्रममा जिसस नुवाकोटकी सदस्य सन्तोषी बोगटी, नगर उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल लगायतको उपस्थिति रहेको थियो।
14.12¡ÆC