एमाले महाधिवेशन, मतदान केन्द्रमा प्रवेश गर्न पाउने समय राति ८ बजेसम्म

पुस २, २०८२ मा प्रकाशित | 270 views


काठमाडौँ । नेकपा एमालेको काठमाण्डाैमा चलिरहेको ११औं महाधिवेशनमा मतदानका लागि मतदान केन्द्रभित्र प्रवेश गर्ने समय तीन घण्टा थप भएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था रहेकोमा मतदानमा ढिलाइ भएपछि एमाले निर्वाचन आयोगको बैठक बसेर राति ८ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्न पाउने व्यवस्था गरेको हो ।

धेरैजसोले मतदानका लागि ३५ देखि ४० मिनेट लगाएका र केहीले दुई घण्टासम्म लगाउने गरेका आयोगले जनाएको छ । ८० वटा विद्युतीय मेशिनमार्फत बिहान साढे ९ बजे शुरू भएको मतदान अन्तर्गत दिउँसाे साढे ४ बजेसम्म ७२० जनाले मतदान गरेका छन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा मतदान सकिन भोलि बिहानसम्म लाग्ने देखिएको छ । अहिले प्रतिघन्टा सय जना हाराहारीले मात्रै मतदान गरिरहेका कारण दुई हजार २६२ जना प्रतिनिधिलाई भोट हाल्न झन्डै २२ घन्टा लाग्न सक्ने भएकोले मतदान कार्य भोलि बिहान मात्रै सकिने सम्भावना रहेको मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ ।

यसपालि सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने भएकाले ढिलाइ भएको छ भने महाधिवेशन प्रतिनिधिहरूले अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलको छुट्टाछुट्टै प्यानल अनुसार नामसूची बोकेर रुजु गर्दै मतदान गरिरहेकाले पनि ढिलाइ भएको छ ।

गएको शनिवार उद्घाटन भएको एमालेको महाधिवेशनमा मतदान शुरू हुनै ढिला भयो भने शुरू भएपछि पनि मतदान निकै ढिला चलिरहेको हो । मतदान सकिएपछि गणनामा तीनदेखि चार घन्टा लाग्नेछ ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा दुई जना, पाँच वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा दुई जना, तीन वटा उपमहासचिव पदमा सात र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web