अनलाइन ठगीबाट जोगिन प्रहरीको ७ बुँदे अनुरोध

मंसिर ४, २०८२ मा प्रकाशित | 164 views


काठमाडौँ । प्रहरीले अनलाइनबाट हुने ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैले सूचना निकालेर अनुरोध गरेको हो ।

प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका घटना दैनिकजसो आइरहेकाले सचेतनाका लागि सूचना जारी गरेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ र त्यो रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउने घटना बढेका छन् ।

यस्तै सामान खरिद गरी भुक्तानी गर्दा आधिकारिक बिक्रेता यकिन गर्न प्रहरीको अनुरोध छ । अपरिचित व्यक्तिको खाता वा नम्बरबाट भिडियोकल गरी रेकर्ड गरेर भिडियोलाई अश्लील बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुन पनि प्रहरीले आग्रह गरेको छ ।

आफ्ना साथीभाइहरू तथा आफन्तले समस्या देखाइ सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गरेर मात्रै सहयोग गर्न प्रहरीको अनुरोध छ । खाता ‘ह्याक’ भएको हुनसक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने प्रहरीले जनाएको छ ।

कसैले अनुरोध गर्दैमा कुनै लिंक नखोल्न, ‘ओटीपी कोड’ अरूलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’ लगायत निजी विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web