
काठमाडौँ । काठमाण्डौ उपत्यकामा फोहोर व्यवस्थापन जटिल बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट अनुगमन गर्नुभएको छ । स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित निकाय तथा स्थानीय प्रतिनिधिसँग छलफलका लागि उहाँले बञ्चरेडाँडाको अनुगमन गर्नुभएको हो ।
काठमाण्डौ महानगरपालिका र अन्य पालिकाबाट गरी काठमाण्डौ उपत्यकाभित्र दैनिक एक हजार दुई सय टनभन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ । सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक व्यवस्थापन ठाउँको रूपमा विकास गरिएको थियो ।
मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे जानकारी लिनुभएको छ । फोहोर विसर्जनले वातावरणीय प्रदुषण, पानीका मुहानमा असर, स्वास्थ्यमा जोखिमलगायतका समस्या पटक–पटक उठ्ने गरेको छ ।
स्थानीयबासिन्दासँग विगतमा सरकारले १८ बुँदे सहमति गरे पनि कार्यान्वयन नभएको गुनासो छ । अहिले स्थानीयबासिन्दाले फोहोर लैजान रोकेका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको छ ।
21.12C