तिलिचो बेश क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार

कार्तिक १५, २०८२ मा प्रकाशित
Published at कार्तिक १५, २०८२

41 views

काठमाडौँ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र ११ जना पर्यटकको उद्धार गरिएको छ । यसअघि दुई जना चिनियाँ र १३ जना नेपाली गरी १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका जानकारी आएकोमा १३ जना मात्रै अलपत्र परेको पाइएको छ ।

तीमध्ये ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अरू दुई जना चिनियाँ पर्यटक मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याम्पमा नै बसेका छन् । उद्धार गरिएकामध्ये एक जनाको खुट्टामा चोट लागेको छ । त्यस्तै एक जना महिला बिरामी हुनुहुन्छ । नौ वर्षका एक बालकसहित अरुको अवस्था सामान्य छ । तर सबैको अक्सिजन लेभल कम रहेको छ ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट हिजो सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि तिलिचो तालको बेश क्याम्पतर्फ गएको थियो ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहान ६ बजे उनीहरुलाई उद्धार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.