डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै

अशोज २३, २०८२ मा प्रकाशित | 421 views


काठमाडौँ । केही दिनअघिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दशैँपछिको वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताउनुभयो ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।

उहाँका अनुसार अहिलेसम्म पाँच हजार पाँच सय ४२ जनामा सङ्क्रमण देखिएकामा दशैँको बीचमा एक सय ९० जनामा सङ्क्रमण देखिएको छ । डोल्पा र मनाङ जिल्लाबाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको उहाँको भनाइ छ । सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।

कोशी प्रदेशमा सात सय ८५, मधेश प्रदेशमा एक सय १९, बागमती प्रदेशमा एक हजार तीन सय १४, गण्डकी प्रदेशमा तीन हजार तीन सय ५६ जना, लुम्बिनी प्रदेशमा नौ सय ७३ जना, कर्णाली प्रदेशमा तीन सय २८ र सुदूरपश्चिम प्रदेशमा छ सय ६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ । डेङ्गी रोकथामका लागि सरकारले हरेक शुक्रवार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web