
नुवाकोट । नुवाकोट जिल्लामा अहिले साँझ ५ बजेदेखि कर्फ्यु सुरु भएको छ ।
जेनजी समूहको बिरोध प्रदर्शन पश्चात उत्पन्न पछिल्लो परिस्थिती नियन्त्रण बाहिर गएसगैँ देशभरमा जस्तै नुवाकोट प्रशासनले पनि साँझ ५ बजेदेखि सुरु भएर भोलि बिहान ६ बजेसम्मको लागी कर्फ्यु लगाएको हो ।
पछिल्ला दुई दिनको आन्दोलन अराजक भएसगैँ शान्ति सुरक्षा कायम गरेर नागरिककको जनधनको सुरक्षाको लागी अहिले नेपाली सेना परिचालन र जिल्लाभर निषेधाज्ञा लगाइएकोमा साँझ ५ बजेदेखि २६ गते बिहान ६ बजेसम्मको लागी भने कर्फ्यु जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो । रातको समयमा हुनसक्ने आपराधिक गतिविधि रोक्न नेपाली सेना परिचालन सहित कर्फ्यु लगाइएको हो ।
जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नको लागी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।
पछिल्लो राजनीतिक परिवेशबाट उत्पन्न भएको विषम परिस्थितिमा अवाञ्छित समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु-याउने, लुटपाट तथा आगजनी गर्ने सम्भावना रहेपछि नागरिकको जिऊधनको सुरक्षार्थ बहादुर श्री शेर गणबाट नेपाली सेना खटिएका छन् ।
अहिले जिल्लामा नेपाली सेना परिचालन, निषेधाज्ञा जारी रहेको छ । यसैबीच, रातको समयमा हुनेसक्ने अपराध रोक्नको लागी कर्फ्यु लगाइएको हुदाँ आम नागरिकलाई अत्यावश्यक काम भएमा सुरक्षाकर्मीसंग समन्वय गरेर मात्र बाहिर निस्कनको लागी सुरक्षाकर्मीले माइकिङ गर्दै सूचित गरिरहेका छन् ।
आन्दोलनको बाहना बनाई विशेष गरेर रातको समयमा हुनसक्ने चोरी, डकैती वा लुटपाटजस्ता अवाञ्छित गतिविधि रोक्नको लागी मंगलबार रातीदेखि नै नेपाली सैनिक परिचालन गरिएको छ । सैनिक परिचालन पश्चात जनजीवन शान्तिपूर्ण हुदै आएको छ ।
18.7¡ÆC