राष्ट्रपति र सेनाले आह्वान गरे पनि ‘जेन–जी’ सँगको औपचारिक वार्ता अझै भएन

भदौ २५, २०८२ मा प्रकाशित | 190 views


काठमाडौँ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि आन्दोलन गर्ने ‘जेन–जी’ समूह र सेना तथा राष्ट्रपतिबीच औपचारिक वार्ता शुरू हुन सकेको छैन ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले ‘जेन–जी’ लाई वार्तामा आउन आग्रह गर्नुभएको थियो । यस्तै राति सम्बोधन गर्दै सेनापति अशोकराज सिग्देलले पनि वार्ताका लागि आह्वान गर्नुभयो ।

गएराति नै सेनापतिसँग ‘जेन–जी’ का प्रतिनिधिले गरेका छलफलमा संलग्न युवाहरूलाई उद्धृत गर्दै बीबीसी नेपाली सेवाले जनाएको छ । तर आफूहरूलाई एक्कासी बोलाएका कारण तयारी नपुगेको र अहिले वार्ता समिति बनाउने र एजेन्डा तयार गर्ने कामका लागि भर्चुअल बैठक भइरहेको उनीहरूले बताएका छन् ।

अनौपचारिक भेटमा सेनापतिले अबको प्रधानमन्त्रीका बारेमा जिज्ञासा राख्नुभएको भए पनि नाम अघि नसारेको युवाहरूले बताएका छन् । यस्तै आज पनि छलफलका लागि १५–१६ जना युवा पुगेपछि सेनापति सिग्देलले पहिले आफूहरू मिलेर आउन भन्नुभएको विवरणहरू सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालबाटै आह्वान गरेको आन्दोलन भएकोले अब नेतृत्व कसले लिने भन्ने यकिन गर्न समस्या भएको छ । सामाजिक सञ्जालमा आह्वान गर्ने धेरै समूह रहेकाले नेतृत्वको दाबी पनि धेरै छ ।

आन्दोलनरत युवाहरूले अहिलेका दलका नेताबाहिरबाट सरकारको नेतृत्व हुनुपर्ने स्पष्ट पारेका छन् । उनीहरूका मागबारे अहिलेसम्म राजनीतिक दल अथवा तिनका नेताहरूबाट सार्वजनिक रूपमा कुनै धारणा सार्वजनिक भएको छैन ।

संविधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभाको सदस्य मात्र सरकार प्रमुख हुने उल्लेख छ । त्यो भएर आन्दोलनरत पक्षका माग सम्बोधन गर्न संविधानको दायराबाहिर जानुपर्ने जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि अर्को सरकार गठन नहुन्जेल उहाँकै सरकारले काम चलाउने भनी राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ । तर प्रधानमन्त्रीदेखि मन्त्रीहरूको अवस्था कहाँ के छ भनेर राज्यका कुनै निकायले सार्वजनिक गरेका छैनन् ।

राष्ट्रपति भवन शीतल निवासमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका कारण सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि ‘जेन–जी’ समूहलाई अपील गरेको हिजो दिउँसोको एउटा विज्ञप्तिबाहेक अरू कुनै गतिविधिबारे सार्वजनिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web