सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत : नेका महामन्त्री थापा

भदौ १९, २०८२ मा प्रकाशित | 209 views


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको निर्णयलाई गलत ठहर गर्दै पुनर्विचार गर्नुपर्ने बताउनुभयो।

उहाँले सामाजिक सञ्जाल आजको दिनमा नागरिकहरूलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको उल्लेख गर्दै कुनै पनि किसिमको प्रतिबन्ध लगाउनु अनुचित हुने धारणा राख्नुभयो। उहाँका अनुसार सामाजिक सञ्जाल अब सर्वसाधारणको दैनिकी, सामाजिक सम्बन्ध, उद्यमशीलता तथा डिजिटल अर्थतन्त्रसँग घनिष्ठ रूपमा जोडिएको छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण हुने अनिच्छित सामग्री नियन्त्रण गर्ने विषयमा आवश्यक कानुनी प्रबन्ध गर्नुपर्ने निर्णय गरिसकेको स्मरण गर्दै उहाँले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन, आवश्यक कानुन निर्माण गर्नुपर्ने बताउनुभयो। हाल सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन रहेको जानकारी दिँदै उहाँले त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो।

सामाजिक सञ्जालमा लगाइने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार संकुचित पार्ने चेतावनी दिँदै उहाँले यस विषयमा सन्तुलित र विवेकपूर्ण निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। उहाँका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको हुँदा यसको समाधान नियमन र कानुनी व्यवस्थाबाट मात्र सम्भव हुन्छ भन्ने धारणा राख्नुभयो।

महामन्त्री थापाले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web