२२ वर्षमै नेपाल सरकारको अधिकृत बन्न सफल नुवाकोटकी दिप्ती आचार्य

भदौ १३, २०८२ मा प्रकाशित | 6436 views


नुवाकोट, १३ भदौ दुप्चेश्वर गाउँपालिका–६ निवासी २२ वर्षीया दिप्ती आचार्यले नेपाल सरकारको अधिकृत पदमा नाम निकाल्न सफल हुनु भएको छ। 

लोकसेवा आयोगले खुला प्रतियोगिताबाट कानुन अधिकृत पदका लागि लिएको परीक्षामा आचार्यले योग्यताक्रम अनुसार १४औँ स्थान हासिल गर्दै नेपाल सरकारको अधिकृत पदमा नाम निकाल्न सफल हुनुभएको हो ।

२२ वर्षको उमेरमा नै नाम निकाल्ने दिप्ती आचार्य लोकसेवा आयोगले खुला प्रतियोगिताबाट कानुन अधिकृत पदका लागि लिएको परीक्षाको प्रतिस्पर्धामा सबैभन्दा कान्छी हुनुहुन्छ । सम्भवतः उहाँ नेपाल सरकारको अधिकृतमा नाम निकाल्ने सबैभन्दा कान्छी समेत हुनसक्ने पाइन्छ ।

कुल ४४ जना पदका लागि लिखित परीक्षा पास गरेर अन्तर्वार्तामा सिफारिस भएका ६४ जनामध्ये ६३ जनाको अन्तर्वार्ता सम्पन्न भएपछि, आयोगले भदौ १२ गते अन्तिम नतिजा सार्वजनिक गरेको हो।

दिप्तीका आमा उमा आचार्य र बुबा जनार्दन आचार्यले छोरीको सफलताले परिवार मात्र नभई नुवाकोटको गौरव बढाएको बताउँदै सामाजिक सञ्जालमा “सबैभन्दा कान्छी उमेदवार भएर यो सफलता प्राप्त हुदा हामी गौरवान्वित छौ । यहाँ सम्म आइपुग्न हर क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने आदरणीय ब्यक्तित्वहरु लाई हार्दिक नमन सहित धन्यवाद ब्यक्त गर्दछु” लेख्नुभएको छ ।

यस सफलालाई दिप्ती आचार्यले पहिलो खुड्किलोको रुपमा लिएको प्रतिक्रिया दिनुभयो । अझै थप सफलताको लागी लागी पर्ने उहाँको भनाई छ । आचार्यले भन्नुभयो ‘सानै उमेरदेखि पढाइमा रुचि थियो। निरन्तर मेहनत, आत्मविश्वास र परिवारको साथले आज म यो स्थानसम्म आइपुगेकी हुँ। कानुन क्षेत्रमा काम गर्ने मेरो रुचिलाई पेशामा रूपान्तरण गर्न पाउँदा गर्व लागिरहेको छ। यस सफलतामा साथ, समर्थन र प्रेरणा दिने सम्पूर्णमा आभार व्यक्त गर्दछु।”  उहाँका अनुसार न्यायिक क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यसहित अझ लगनशील भएर काम गर्ने उहाँको योजना छ।

सानै उमेरदेखि पढाईमा जेहेन्दार दिप्तीले समुन्द्रटारस्थित सामुदायिक विद्यालय रूकमणी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (SEE) उर्तिण गर्नुभएको थियो । त्यसपछि काठमाडौको रेडन कलेजबाट विज्ञान विषयमा कक्षा १२ उर्तिण गर्नुभयो । विज्ञान विषयमा अध्ययन पूरा गरेपछि उच्च शिक्षा अध्ययनको लागी प्रशस्त मार्गहरु भएपनि सानैदेखि न्याय क्षेत्रमा लाग्ने उहाँको चाहना अनुरुप नेपाल ल क्याम्पसमा स्नातकमा भर्ना हुनुभएको उहाँले हरेक समेष्टरमा उच्च अकंका साथ उर्तिण हुनुभएको थियो । बिए-एलएलबिको दशौँ समेष्टरमा उहाँले कजेल टप गर्नुभएको थियो ।

परिवारको साथ, सहयोग र उपयुक्त मार्गदर्शनले नै दिप्तीको लक्ष्य र चाहनाले क्रमशः सार्थकता पाउदै आएको हो । उहाँको बुबा जनार्दन आचार्य दुप्चेश्वर–६ मा सञ्चालित दुप्चेश्वर माविमा निम्न माध्यमिक तहको द्धित्तीय श्रेणी शिक्षक हुनुहुन्छ । विसं २०६३ सालमा नेपाली विषयको स्यायी शिक्षकमा नुवाकोटमा पहिलो सिफारिसमा नाम निकाल्नुभएका उहाँले विसं २०७५ मा बढुवाको क्रममा एक पदको लागी १५० जना बीच भएको खुला प्रतिस्पर्धामा सफल हुदैँ द्धित्तीय श्रेणी हुनुभएको थियो ।

आफ्नो सफलताको श्रेय बाबु, आमा, परिवार, शिक्षालय र समाजको राम्रो प्रेरणा रहेको दिप्तीको भनाई छ ।

दिप्ती आचार्यको यो सफलता नयाँ पुस्ताका युवायुवतीका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web