
नुवाकोट । विदुर नगरपालिका भित्र कार्यरत रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि एक दिने आधारभूत आँखा उपचार तालिम दिइएको छ ।
विदुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको सहजिकरणमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको व्यवस्थापनमा उनीहरुलाई आधारभूत आँखा उपचार सम्बन्धिको तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले गर्नुभएको थियो । उक्त अवसरमा उपप्रमुख प्रभा बोगटीले महिला स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएका आधारस्तरका स्वास्थ्य सेवाकर्मी भएकाले उहाँहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
“स्वयंसेविकाहरूलाई आँखा स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गर्नु अत्यन्त आवश्यक छ। यो तालिमले उनीहरूलाई समुदायमा प्राथमिक तहको आँखा समस्या पहिचान र सन्दर्भ गर्न सक्षम बनाउनेछ।” उहाँले भन्नुभयो “विदुर नगरपालिकाले स्वास्थ्य, शिक्षा र जनचेतनामा विशेष प्राथमिकता दिँदै आएको छ। आगामी दिनमा पनि यस्ता तालिम तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
कार्यक्रममा रेडक्रस नुवाकोटका सभापति हरी श्रेष्ठ, सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवा, जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी लगायतको उपस्थिति रहेको थियो।
तालिममा विदुर नगरपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा स्वास्थ्य, रोग पहिचान र आधारभूत उपचार सम्बन्धी ज्ञान प्रदान गरिएको थियो। सामुदायिक आँखा केन्द्रका प्रमुख वाइवाले तालिमले स्थानीय स्तरमा आँखा स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । तालिम सञ्चालनको लागी दी फेड क्लोज फाउण्डेशन STC Project phase-2 को सहयोग रहेको थियो ।
16.42¡ÆC