
बिहानको दूध तताएर ठेकीमा नहाली राखिएको हुन्थ्यो । दिनभरि ‘भरे बेलुका खिर खाने’ विषयले मनमा असीम उत्साह र साँझको व्यग्र प्रतिक्षा। दुईटा कुराको भने निकै डर हुने । एक: बिहानको दूध कतै जम्ने पो हो कि ? दुई : साँझ भैंसीले दूध नै दिएन भने ?
भैंसी दुहेर (आजका लागि पाडापाडीको भाग पनि अलि ठगेर) दूध तताएपछि माहोल क्लाइमेक्समा पुग्थ्यो । आँतिला र झरिला दाउरा लिएर आज बा आफैं अँगेनाको छेउमा बसेर खिर पकाउने मूल कार्यभार सह्माल्नुहुन्थ्यो । ठूलो काम ठूलै मान्छेले गर्नुपर्ने भएर होला ! सायद बुवा अघिसर्नुभएको । आमाको भूमिका आज सहायक हुन्थ्यो ।
बुवा अहिले पनि धेरै मिठो खिर पकाउनुहुन्छ । अघि भैंसी दुहेपछि एउटा डर सकिएको थियो, भैंसीले दूध नदिने डर । बिहान र साँझको दूध छुट्टाछुट्टै उमालेपछि अर्को खड्गो पनि टर्यो । दूध जम्ने खड्गो । अब खिर खाइने पक्का भयो । दिउँसै खरानी लाएर तयारी हालतमा राखिएको बाक्लो ढलोटे कसौँडीमा दूध मिसाएर पकाउन बसाल्नुहुन्थ्यो बुवाले । कतै उम्लेर पोखिने हो कि भन्ने डरले आगो निभाउन अम्खोरामा पानी र हातमा डाडु ‘स्टान्डबाई’ राखेर आँखा नझिम्क्याई खडा हुनुहुन्थ्यो बुवा ।
फेरि यो दूधको उम्लने स्वभाव पनि त गजबको हुन्छ नि ! हेरुन्जेल मरे नउम्लने, आँखा यताउता लानेबित्तिकै भक्लक्कै उम्लेर पोखिइहाल्ने । आज यस्तो नहोस् भनेर अँगेनुको कसौँडीमा विस्फारित घरका अरू कम्तीमा एक दर्जन आँखाले बाका दुईटा आँखालाई सघाइरहेका हुन्थे । परेको सहयोग गर्न आदेशको प्रतिक्षासहित वरिपरि तैनाथ रहेका हामीलाई अँगेनुमा, ओदानमा, दाउरामा वा भाँडोमा कसैगरी धक्का लागेर दूध घोप्टिने हो कि भन्ने डरले अझै खाइरहन्थ्यो । दूध उम्लिन्थ्यो । ग्याँसको जस्तो आगो घटाउन बढाउन नमिल्ने, दाउरा नै झिकेर आगो घटाएर मधुरो बनाइन्थ्यो ।

एआईको सहयोगमा तयार गरिएको प्रतिकात्मक तस्बिर ।
अघि नै लपक्कै भिज्ने गरी घिउमा मुछेर राखिएको मसिना चामल कसौँडीमा खन्याएपछि मधुरो आगोमा चलाउँदै पकाउँदा भाँडोबाट वाफसँगै वाफभन्दा पनि धेरै बास्ना आउँथ्यो र घरभरि फैलन्थ्यो । चामल आधा पाकेपछि खुदो (पहिले पहिले चिनी थिएन, खुदोको चलन थियो । अलि पछि भएसि चिनी आयो), मरिचको धुलो र बास्नादार मसला राखेर बाहिर झिकी बाँकी आधा पाक्नका लागि एकछिन छोपेर राखिन्थ्यो । हामी पर्खन्थ्यौं । करिब १५ मिनेटको यो पर्खाइ १५ घन्टाभन्दा लामो र कष्टकर हुन्थ्यो ।
छोपेको थाल निकालेपछि एउटा प्रतिक्षा सकियो । धुरीमा बाफ पुग्न त बाँकी नै छ । बाफभन्दा पहिले बुइगलमा हामी पुग्थ्यौं बाफ पुगे-नपुगेको जाँच्न । बुइगलमै बास्ना पुगेपछि खाने बेला भो ।

एआईको सहयोगमा तयार गरिएको प्रतिकात्मक तस्बिर ।
ऊबेला ‘फेसबुकलाई, टिकटकलाई चढाउन पर्दैनथ्यो’, देउतालाई चाहिँ चढाउनु पर्थ्यो । बाले देउतालाई चढाएपछि आमाले लगाइदिएको भाग समातेर हातैले छेउबाट झिक्दै खाइने बास्नादार खिर पो खिर ! त्यस्तो खिरको स्वाद त स्मृतिमा मात्रै छ । खाइसकेपछि पनि घन्टौँसम्म थाल चाटिरहन मन लाग्ने त्यो बेलाको खिर ! त्यसमा फोटो, भिडियो, फेसबुक, टिकटक, राजनीति, स्वाङ केहीपनि थिएन, स्वादमात्रै थियो । अहिलेको खिरमा स्वादबाहेक सबै कुरा छ ।

✍️ लेखक बाबुराम लामिछाने पृथ्वी माध्यमिक विद्यालय, विदुर–४ का प्रधानध्यापक हुनुहुन्छ । तारकेश्वर गाँउपालिका–४ मा हुर्कनुभएका उहाँ हाल विदुर–२ निवासी ।
17.12C