त्रिशूली अस्पतालमा कति छन् कर्मचारी ??

साउन १२, २०८२ मा प्रकाशित | 671 views


नुवाकोट । नुवाकोट सहित रसुवा, धादिङ लगायत आसपासका जिल्लाबासीलाई सेवा दिदै आएको  यहाँको प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिशूली अस्पताल नुवाकोटमा कति जना कर्मचारी कार्यरत छन् भन्नेबारे धेरैको चासो रहँदै आएको छ।

अस्पतालमा विभिन्न सेवा तथा विभाग सञ्चालन गर्न चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी लगायत विभिन्न पदका जनशक्ति आवश्यक पर्छन्।

हाल त्रिशूली अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफ, ल्याब तथा फार्मेसी टेक्निसियन, कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी लगायत गरी कर्मचारी कति होलान भन्ने जिज्ञासा धेरैको रहदै आएको छ । तर, त्रिशूली अस्पतालले ६१ औँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको ‘स्मारिका’ अनुसार नवौँ तहका कन्सल्टेन्ट जनरल सर्जन डा. राजेन्द्र लामाको नेतृत्व (निर्देशक)मा हाल विभिन्न तहमा  २११ जना कर्मचारी रहेको उल्लेख गरिएको छ ।

यसमध्ये विशेषज्ञ चिकित्सक २४ जना, मेडिकल अधिकृतहरु १५ जना रहेका छन् । बाँकी स्वास्थ्यकर्मीतर्फको नर्स, अनमी, ल्याब टेक्निसियन लगायत रहेका छन् ।

प्रशासन तथा अन्य प्राविधिक र सहयोगी कर्मचारीहरू पनि आवश्यकता अनुसार नै रहेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएको छ ।

त्रिशूली अस्पतालमा आवश्यकका अनुसारको जनशक्ति व्यवस्थापन गर्दै सेवा प्रवाहमा केन्द्रित रहदै आएको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले त्रिशूली अस्पतालमा आवश्यकता अनुसार नै पदपूर्ति गरिए उल्लेख गर्दै “अस्पताललाई रोजगार केन्द्रको रुपमा भन्दा पनि स्वास्थ्य सेवा प्रवाहको केन्द्र”को रुपमा बुझ्न आग्रह गर्नुभयो।

उहाँले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रुपमा पाउने वातावरण बनाउनेतर्फ अस्पतालको प्राथमिकता हुनुपर्ने बताउनुभयो। साथै, जनशक्तिको व्यवस्थापनमा संस्थागत आवश्यकता अनुसार सङ्ख्या घटबढ हुने गरेको उहाँको भनाई छ ।

अस्पतालमा खटिने अधिकांश जनशक्तिको नियुक्ति संघीय सरकार स्वास्थ्य सेवा विभाग र प्रदेश सरकार, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत हुने गरेको छ। निक साइमन्स इन्स्टिच्युट (NSI) लगायतका सँस्थाहरुले पनि जनशक्ति व्यवस्थापनमा सहयोग पुराएका छन् ।

केही करार तथा सेवा करारका कर्मचारी अस्पताल व्यवस्थापन समितिबाट आवश्यकता अनुसार नियुक्त हुने गरेको जानकारी दिइएको छ । कर्मचारीहरूको तलब तथा सुविधा संघ, प्रदेश वा अस्पताल व्यवस्थापन समितिको जिम्मेवारीमा पर्ने गर्दछ ।

त्रिशूली अस्पतालको सेवा दायरा र जनसंख्या हेर्दा कर्मचारी संख्या अझ वृद्धि हुनुपर्ने माग समेत समय–समयमा उठ्ने गरेको छ। स्थानीय तह, नागरिक तथा सरोकारवालाहरूले सेवा प्रवाहको प्रभावकारिता कायम राख्न त्रिशूली अस्पताल नुवाकोटमा जनशक्ति थपको माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web