मौद्रिक नीति कार्यान्वयनमा : शेयर कर्जा र घर किन्नेलाई सहज

साउन १, २०८२ मा प्रकाशित | 142 views


काठमाडौँ । मौद्रिक नीतिको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । नयाँ मौद्रिक नीतिले शेयर कर्जा र घर किन्नेलाई सहज बनाएको छ ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरिएको छ । यस्तै व्यक्तिगत शेयर कर्जाको सीमा २५ करोड बनाइएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर मौद्रिक नीतिमार्फत गरिएका धेरैजसो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । नीतिगत परिमार्जनसम्बन्धी केही व्यवस्था भने कार्यान्वयनमा आएका छैनन् ।

मौद्रिक नीति कार्यान्वनबाट २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमलगायत क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायमा प्रवाहित कर्जा तथा ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले लिएको आवासीय घर कर्जालगायत व्यक्तिगत कर्जाका ऋणीले पनि केही राहत पाउने भएका छन् ।

मौद्रिक नीतिले उनीहरुको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरेर तोकिएका सर्तको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर अधिकतम २५ करोड रुपैयाँ बनाएको हो ।

अब बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय प्रतिवेदन १५ दिनभित्र र चौथो त्रैमासको प्रतिवेदन ३० दिनभित्र प्रकाशन गरिसक्नुपर्नेछ ।

मौद्रिक नीतिले वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंकजस्तै राष्ट्रिय स्तरका वित्त कम्पनीलाई निक्षेप सङ्कलनमा कुनै सीमा लगाइएको छैन ।

अब वैदेशिक रोजगारमा जाने व्यक्तिले बिनाधितो ३ लाख रुपैयाँ र महिलाले ५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web