सुनचाँदी व्यवसायीको शान्तिपूर्ण र्याली : नीतिगत सुधारको माग

असार २५, २०८२ मा प्रकाशित | 295 views

सुनचाँदी व्यवसायीको शान्तिपूर्ण र्याली : नीतिगत सुधारको माग

नुवाकोट । सरकारले सुनचाँदी व्यवसायमा लगाएको कर तथा अस्पष्ट नीतिका विरुद्ध आवाज उठाउँदै नुवाकोटका सुनचाँदी व्यवसायीहरूले आज शान्तिपूर्ण र्याली आयोजना गरेका छन्। नुवाकोट सुनचाँदी व्यवसायी संघको आयोजनामा भएको उक्त र्याली संघका अध्यक्ष भिम ब्रजाचार्यको नेतृत्वमा सम्पन्न भएको हो।

र्याली बट्टारबाट सुरु भई विदुर, ढुङ्गे, त्रिशूली, कोलनी हुँदै पुनः बट्टारमै पुगेर समापन गरिएको थियो। र्यालीमा सयौं व्यवसायीहरूको उत्साहजनक सहभागिता थियो। उनीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर सरकारसमक्ष स्पष्ट मागहरू अघि सारेका थिए।

र्यालीमा उठाइएको प्रमुख मागहरूमा :
• सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा-पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नु,
• सुनको भन्सार दर ६ प्रतिशतमै कायम राख्नु,
• सुनचाँदीको कारोबारका लागि स्पष्ट, दीर्घकालीन र व्यवसायमैत्री नीति तथा नियमावली निर्माण गर्नु,
जस्ता विषय समावेश थिए।

संघका अध्यक्ष ब्रजाचार्यले हालको कर संरचनाले व्यवसायीहरूलाई दवावमा पारेको बताउँदै राज्यले सुनचाँदी व्यवसायप्रति अविलम्ब ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भने, “व्यवसायीहरू निरन्तर अस्थिर नीति, दोहोरो कर प्रणाली र नियमनको अभावले समस्यामा परेका छन्। हाम्रो माग पूरा नभएमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिनेछ।”

र्याली शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यसले व्यवसायीहरूको आवाज सरकारसम्म पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web