बेलकोटगढीका सबै वडा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ सुनिश्चित रहेको घोषणा

असार २१, २०८२ मा प्रकाशित | 515 views


नुवाकोट । बेलकोटगढी नगरपालिकाको सम्पूर्ण वडा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ सुनिश्चित रहेको घोषणा गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख जगतबहादुर गुरुङले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोप सेवाको प्रभावकारिता उल्लेखनीय भएको बताउनुभयो। उहाँले नगरपालिकाको तर्फबाट यस अभियानलाई निरन्तरता दिन आवश्यक स्रोत-साधनको व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि उपप्रमुख शिवप्रसाद दाहाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक थिङले पनि पूर्ण खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्यको खाँचो औंल्याउँदै सबैलाई धन्यवाद दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहको अनुसार जन्मेदेखि १५ महिनासम्मका ४४१ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेका छन् भने १५ महिनादेखि दुई वर्षसम्मका ३६९ जना बालबालिकाले खोपको सम्पूर्ण मात्रा पूरा गरिसकेका छन्।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी भएकाहरुले नगरभित्र बालबालिकाको स्वास्थ्य सुरक्षालाई अझ मजबुत बनाउन आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् ।

मदानपुर स्वास्थ्य चौकी उत्कृष्ट :
स्वस्थ्य सेवा प्रवाहको गुणस्तरीय मापन अन्तरगत गरिएको छनोटमा मदानपुर स्वास्थ्य चौकी प्रथम भएको छ । पालिका भित्र रहेका विभिन्न ७ वटा स्वास्थ्य चौकीमा गरिएको सर्वेक्षणमा ७६ प्रतिशत अंकको साथ मदानपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभयो । यस्तै, बेलकोट स्वास्थ्य चौकी ७४ अंक सहित दोश्रो स्थानमा रहेको छ भने थप दुईपिपल स्वास्थ्य चौकी ६४ स्थानमा रहेको छ ।

स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा अन्तरगत अपनाउने स्वास्थ्य सावधानी र सतकर्ता, सेवा गुणस्तर बनाउनको लागी गरिने क्रियाकलाप लगायत आधारका मापदण्ड अनुसार ती स्वास्थ्य चौकीहरुलाई अंक दिइएको थियो । प्रथम दोश्रो, तेश्रो भएको स्वास्थ्य चौकीलाई कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीहरुबाट प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web