समुदाय रुपान्तरणमा अब्बल माझीगाँउ सामुदायिक वन

असार १९, २०८२ मा प्रकाशित | 1008 views


नुवाकोट । समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् ।

सामुदायिक वनमा योगदान पुराएको भन्दै जिल्ला र प्रदेसबाट समेत सम्मानित भइसकेको विदुर नगरपालिका–८ मा रहेको माझीगाँउ सामुदायिक वन अहिले उपभोक्ताको आम्दानीको श्रोतको रुपमा स्थापित भएको छ ।

उपभोक्ता समितिको सक्षम नेतृत्वबाट वन संरक्षणमा देखाएको निरन्तरको सक्रियता एंव उपभोक्ताको सामूहिक एकताले सामुदायिक वनमार्फत समुदायको आर्थिक रुपान्तरणमा परिवर्तन ल्याउन धेरै सफल भएको पूर्व अध्यक्ष बाबुकाजी श्रेष्ठले बताउनुभयो ।

वन समितिको अध्यक्षमा केही महिना अघि सन्तुमाया नगरकोटी निर्वाचित हुनुभएको छ । वन पैदावरको उपभोगमा महिलाको भूमिका धेरै हुने भएकाले वन जोगाएर हुने फाइदाले माझीगाँउको वस्तीमा महिला सशक्तिकरणमा समेत परिवर्तन आएको अध्यक्ष सन्तुमाया नगरकोटीको भनाई छ । विगतका वर्षमा सामुदायिक वन क्षेत्रमा पुराएको योगदानले जिल्ला र प्रदेशबाट सम्मानित भइसकेको छ । आगामी दिनमा उक्त सम्मान जोगाउन थप सक्रिय र लगनशील भएर लागिरहेको उहाँले बताउनुभयो ।

सामुदायिक वन मार्फत सहुलियत पसल सञ्चालनमा सहजिकरण भएको छ । कुटानीपिसानी मिल चलिरहको छ । फर्निचर मिल चलाएर समुदायका सदस्यको दैनिक जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्दै आएको वन समितिको कार्यालय सचिव रोहित श्रेष्ठले जानकारी दिनुभयो ।

सहुलियत शुल्कमा काठ समेत उपलब्ध गराउदै आएकाले उपभोक्ता तथा बाहिरका जो कोहीलाई पनि माझीगाँउ सामुदायिक वनबाट लाभ लिन पाएका छन् । समितिले उपलब्ध गराउने काठले विशेष गरेर त्रिशूली अस्पतालमा निधन भएका व्यक्तिको अन्तिम सस्काँरको कार्य गर्न सहज बनाएको छ ।

सामुदायिक वनले सञ्चालन गर्ने गतिविधि समुदायका सबैको हितमा हुने र त्यसलाई प्रतिस्पर्धा गर्ने गरी अन्यले सोही व्यवसाय नगर्ने सहमतिअनुसार समुदायिक वनले चलाएका कार्यक्रम एकद्वार प्रणालीमार्फत सञ्चालन हुदै आएको छ ।

वन सदस्यको आम्दानीको स्रोत जुटाउन वन समितिले भवन बनाएर भाडामा लगाएको छ भने क्याटरिङका सामग्री उपलब्ध गराएर सेवा र आर्थिक लाभ दुवै पु-याएकाले प्रशंसनीय कार्य गर्दै आएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार डिभिजन वन कार्यालयले उक्त वनमा गत वर्ष र यो वर्ष लगातार वृक्षारोपाणको कार्यक्रम गरेको छ । खाली जग्गालाई हरियाली बनाउन वन समितिले देखाएको सक्रियता र लगनशीलताले नै सयौँ उपभोक्ताको उपस्थितीमा गत जेठ २२ गते ‘विश्व वातावरण दिवस’को अवसरमा बृहत्त वृक्षारोपण कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमको गरिमा र महत्वलाई मध्येनजर गर्दै डिभिजनल वन अधिकृतको अग्रसरतामा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतको जिल्लास्तरका सरोकारवालाहरुको सहभागिता समेत रहेको थियो ।

“वनलाई जोगाउन वन समितिको क्रियाकलापलाई सदस्य सबैले स्वीकार गरेका छन् ।” वन समितिका सल्लाहकारसमेत रहेका पूर्व अध्यक्ष बाबुकाजी श्रेष्ठले भन्नुभयो “वनमा हुर्किएका करोडौं रुपैयाँको काठ वन विनास नहुने गरी प्रयोगमा ल्याएर सदस्यलाई ‘लखपति’ बनाउने योजना अनुसारको कार्ययोजना बनाएका छौं ।”

विश्व वातावरण दिवसको अवसरमा बनाएर वन समितिले ‘प्लाष्टिक प्रदूषण न्युनिकरण’को सामूहिक ऐक्यबद्धता जनाएको छ । सामुदायिक वन क्षेत्रमा प्लाष्टिक प्रदूषया न्युनिकरण हाम्रो दायित्व’ भन्ने आदर्श वाक्यलाइ आत्मसाथ गर्दै उपभोक्ताहरु माझ प्लाष्टिकजन्य वस्तुहरु निरुत्साहित गर्ने सामूहिक निर्णय गरिएको हो ।

सामुदायिक वनले गरेका विभिन्न गतिविधिहरु तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web