तादी गाँउपालिकाको सम्पूर्ण वडा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

असार ६, २०८२ मा प्रकाशित | 703 views


नुवाकोट । तादी गाँउपालिकाको सम्पूर्ण वडा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना‘ घोषणा गरिएको छ ।

यसअघि नै पालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोमा त्यसपछिका दिनमा जन्मेका बालबालिकाले पूर्ण खोप पाए नपाएको अध्यावधिक गराउनको लागी संकलन गरिएको तथ्याङ्कमा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले आवश्यक मात्राको सबै खोप पाएको तथ्यका आधारमा पालिका अध्यक्ष सन्तमान तामाङले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागी खरानीटार अस्पताल, स्वास्थ्य शाखा, स्वास्थ्य सँस्था, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंमसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । त्यसका लागी १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना भएको सुनिश्चित सहित पालिकामा रहेका सबै वडालाई एकैसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

राष्ट्रिय खोप तालिका अनुसार पालिकामा रहेका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य संयोजक बासुदेव श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सन्जू प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, सम्पूर्ण वडाका अध्यक्षहरु, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, खरानीटार अस्पतालका प्रमुख डा. एरीका कार्की ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयन्ती थापा, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, तादी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविका लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंमसेविकाहरुलाई उहाँहरुले पुराएको योगदानको उच्च कदर गर्दै सम्मान समेत गरिएको छ । लामो समय देखि स्वास्थ्य स्वयंमसेविका रहि निवृत्त हुनु भएका स्वयंम सेविकाहरुलाई पचास हजार रुपैयाँ सहित गाँउपालिका अध्यक्ष सन्तमान तामाङले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

पालिकामा रहेका सबै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको गाँउपालिकाले घोषणा गरेसगैँ अब जनस्वास्थ्य कार्यालयले सोही तथ्याङ्कको आधारमा तादी गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्राबधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web