ड्वाचेको पानी आएसगैँ नगरप्रमुख श्रेष्ठ सिप्लिगान मुहानको सुदृढिकरणमा व्यस्त

बैशाख २६, २०८२ 2025-05-09 मा प्रकाशित
Published at 2025-05-09

176 views

नुवाकोट । ‘सानो मेलम्ची’को उपनाम पाएको नुवाकोटको ड्वाचे खानेपानी मुहानबाट ल्याएको पानी पहिलो पटक विदुर नगरपालिका–२ नुवाकोटको दरबार क्षेत्रमा आइपुगेको छ । तीन दशक अघि सपना देखिएको देखिएको ड्वाचेको पानी ल्याउने योजना यही साता पूरा भएको हो ।

सामान्य रुपमा भन्दा पानी आउनु कुनै नौलो विषय होइन । तर, करोडौ रुपैयाँ लगानीमा नुवाकोटको सूर्यगढी गाँउपालिकाको अधिकांश स्थान सहित लिखु, तादी र विदुरको केही स्थानमा खानेपानी ल्याउन सक्नुलाई एतिहासिक काम मान्न सकिन्छ ।

यही ऐतिहासिक कार्य अन्तरगत विदुरका नगरप्रमुख राजन श्रेष्ठले विभिन्न सरोकारवाला निकायसंगको समन्वय र पहलमा पहिलो पटक ड्वाचेको मुहान (रसुवा)को पानी नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आइपुगेको छ ।

पानी ल्याउनको लागी नुवाकोट दरबार पुर्ननिर्माणको लागी पानी सहित अन्य श्रोत र साधनको बन्दोबस्ती नगरपालिकाले गर्ने प्रतिबद्धता अनुरुपा आपतकालीन कार्य प्रयोजनको लागी ड्वाचेको पानी सूर्यगढीको उपल्लो चोगदे स्थित ट्याङ्कीबाट २५ एम.एम.को पाइप मार्फत ल्याएको पानी विदुर–११ सिप्लिगान मुहानमा समावेश गरेर ऐतिहासिक नुवाकोट दरबार खानेपानी योजनाको पाइप लाइन मार्फत विदुर–२ मा ल्याइएको हो ।

ड्वाचे पानी ल्याउने सफलता पश्चात सिप्लिगान मुहानको सुदृढिकरण सुरु :
रसुवाको ड्वाचेबाट आएको पानी सिप्लिगान मुहानहुदै विदुर–२ मा आएसगैँ उक्त मुहानको पानीको सुदृढिकरणमा विदुरका नगरप्रमुख श्रेष्ठ व्यस्त हुनुहुन्छ । 

विदुर नगरपालिकाको सवईञ्जिनियर निशा ढुङ्गाना, ऐतिहासिक नुवाकोट दरबार खानेपानी योजनाको उपभोक्ता समितिका पदाधिकारी सहित नगरप्रमुख श्रेष्ठ सिप्लिगान मुहानलाई व्यवस्थित बनाई पानीको श्रोत बढाउन लाग्नुभएको हो । उहाँको अनुसार अहिले २६ लाख ५९ हजार बजेट उपलब्ध गराई मुहानदेखि उपभोक्ताको घरसम्म नै आवश्यकताको आधारमा सुदृढिकरणको काम सुरु भएको छ ।

ठेक्का मार्फत अघि बढाउन लागिएको कामको लागी विदुर–११ सिप्लिगान मुहानमा पानीको मूल श्रोतको ट्याङ्कीलाई व्यवस्थित गर्ने, पोलिथिन पाइप भएका तर, पाइत क्षति पुगेका एंव पुग्न सक्ने स्थानमा जिआई पाइप राख्ने, पोलिथिन पाइपलाई जमिनको सतहमुनी गाड्ने, आवश्यकता अनुसार ठाँउठाँउमा थप नयाँ ट्याङ्की निर्माण गर्दै पाइपले लिने एयरका कारण पाइप फुट्ने जोखिमलाई मुक्त गरिने, फलाटे बजार सहित बस्ती भएका स्थानमा पाइपको सुरक्षाको लागी जिआई पाइप राखेर जमिनको सतहमा गाड्ने, मालिका मन्दिर स्थित रहेको मुख्य ट्याङ्कीको मर्मतसम्भार गर्ने, उपभोक्ताको घरघरमा लगेको पाइप लाइनबाट भइरहेको चुहावट रोक्नको लागी आवश्यक सामाग्रि परिवर्तनदेखि पूर्वाधारको निर्माणका काम हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

निर्माण व्यावासायी मार्फत सुरु गर्न लागिएको काम १९ लाख ६९ हजारमा शिवशक्ति कन्स्ट्रक्सन, विदुर–२ ले गर्ने जिम्मेवार पाएकाले तोकिएका मापदण्ड अनुसार तोकिएको समयसीमा भित्रै काम गराउनको लागी नगरपालिका सक्रिय रुपमा लाग्ने सवईञ्जिनियर निशा ढुङ्गानाले जानकारी दिनुभयो ।

निर्माण व्यावसायीलाई नगरप्रमुख, उपभोक्ता समितिका पदाधिकारी सहितको सयुक्त टोलीलाई उहाँले कार्य क्षेत्रमा गर्नुपर्ने कामका सम्बन्धमा जानकारी गराई कार्यदेश दिइएको छ ।

तोकिए अनुसारको काम सम्पन्न भएपश्चात सिप्लिगान मुहानबाट हाल आइरहेको पानी मुहानदेखि उपभोक्ताको घरसम्ममा विभिन्न स्थानमा भएका चुहावट र खेर गएका पानीको संरक्षण हुने भएकाले पानीको मात्रा दोब्बर बृद्धि गराउने लक्ष्यको साथ आवश्यक बजेट उपलब्ध गराई प्राविधिकलाई साथमा लिएर नगरप्रमुख श्रेष्ठ विदुर–११ स्थित सिप्लिगान मुहानको सुदृढिकरणमा केन्द्रित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.