शिवपुरीमा कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उयोगी ५० दिनको तालिम सम्पन्न

बैशाख २३, २०८२ मा प्रकाशित | 533 views


शेराबगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारिका लागि रुपान्तरण पहल आयोजनाबाट प्राप्त शसर्त बजेटबाट शिवपुरी गाउँपालिकामा गएको फागुन ११ गतेबाट सञ्चालनमा ल्याएको  गाउँपालिका रोजगार सेवा केन्द्रबाट सञ्चालित कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उयोगी ५० दिनको तालिमको प्रमाणपत्र बितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

शिवपुरी पालिकाबासीको आवश्यक्ता अनुसारको तालिम र उच्च गुणस्तरको मानव संसाधन सृजनामा गाउँपालिका सधै प्रयासरत रहने समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाले बताउनुभयो ।

तालिम लिएपछि त्यसलाई सदुपयोग गर्ने र स्वरोजगार हुने ठूलो जिम्बेवारी प्रशिक्षार्थी स्यमंको रहेको र त्यसमा गाउँपालिकाबाट पुर्ण सहयोग रहने कुरा गाउँपालिकाका उपाध्यक्ष वीर बहादुर तामाङले बताउनुभयो ।

५० दिनको तालिममा सहभागी भएका ३५ जनालाई सिकर्मी र डकर्मी दुबै समुह बिभाजन गरेर प्रशिक्षार्थीहरु उत्साहित र हौसलापूर्ण रुपमा तालिम सम्पन्न भएको छ ।

शिवपुरी गाउँपालिकामा प्रचुर मात्रामा रहेको उच्च गुणस्तरका ढुङ्गा तथा काठहरुको सदुपयोगमा यस सीपमुलक तालिम कोषेढुङ्गा साबित हुने आशा रहेको कुरा शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

आधारभुत तालिम पश्चात सीप परिक्षण, प्रशिक्षार्थीहरु संगको निरन्तर संयोजन र दोस्रो चरणमा एडभान्स लेभलको तालिम समेत प्रदान गर्न सके शिवपुरीलाई आवश्यक जनशक्ति उत्पादन र स्वरोजगारी सृजानामा ठूलो सफलता हात पर्न सक्ने भनाई तालिम प्रदायकहरुबाट प्राप्त भएको शिवपुरी गाँउपालिकाको पुजा खतिवडाले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरु तालिमबाट आवश्यक सीप हासिल गरि स्वरोजगार हुने कुरामा आशावादी रहेको देखिन्छ । तालिममा अधिकाङ्स महिला सहभागीहरु रहेका थिए भने उनीहरुले प्राप्त तालिमको सीप पहिलो चरणमा आफ्नै घर गाउँमा सदुपयोग गर्ने र सो पश्चात स्वरोजगारीमा संलग्न हुने आत्मविश्वास ब्यक्त गरेका छन ।

कार्यक्रमले गाउँपालिका भित्र सीप विकास तालिम अबधिमै प्रत्यक्ष महसुस हुने गरी उत्पादन भएको सामाग्री गाउँपालिका भित्रै खपत हुने श्रृजनात्मक स्थानीय आन्तरिक प्रणाली बिकासको लागि गाउँपालिकामा हाल सञ्चालनमा रहेको गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत जुत्ता बनाउने तालिममा निर्मित जुत्ता र साबुनको प्रदर्शनी तथा बजारिकरणको सानो मोडल प्रस्तुतिकरण समेत गरिएको शिवपुरी गाँउपालिकाको पुजा खतिवडाले जानकारी दिनुभयो ।

गृहिणी महिला सशक्तिकरण तालिमबाट जुत्ता, साबुन बनाउने तालिमबाट सिप सिकेका महिलाहरुले आफूले उत्पादन गरेका सामाग्रिहरु उक्त कार्यक्रममा राखिएको प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुले निकै रुचीपूर्वक अवलोकन गरेका थिए । स्थानीय युवाहरुको सिप मार्फत गरिएको स्थानीय उत्पादन प्रति कार्यक्रममा सहभागीहरुले प्रशंसा गर्दै सिकेको सिपलाई नियमित रुपमा ब्यबहारमा ल्याएर आर्थिक उपार्जनसंग जोडिनको लागी सुझाब दिएका थिए ।

आगामि दिनमा उत्पादनमा आधारित रोजगारी सृजनाको लागि गाउँपालिकाले केहि मात्रामा सामुहिक रुपमा उत्पादित बस्तुहरु खरिद गरि प्रयोग तथा बिक्रि गरिदिने प्रतिबद्धता समेत कार्यक्रममा उपस्थित अध्यक्ष र उपाध्यक्षले बताएका छन् ।

कार्यक्रममा नुवाकोटका विभिन्न गाउँपालिकाबाट रोजगार संयोजकहरु पनि उपस्थित भएका थिए। राष्ट्रिय प्राथमिकता प्राप्त प्रधानमन्त्री रोजगार कार्यक्रमले सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति एवम् श्रम बजारमा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यबाट उत्पादनशील रोजगारी र मर्यादित काम लगायतको दीगो विकासको लक्ष्य प्राप्तिमा सहयोगी हुने अपेक्षा रेहको छ ।

तिव्र रुपमा बढ्दै गएको गरिबी र बहुआयामिक प्रकृतिका बेरोजगारी जस्ता विकराल समस्यालाई आधारभुत र आत्मनिर्भर रुपमा समाधान गर्ने कुरामा सीप विकासका तालिमहरु दरिलो कोषेढुङ्गा साबित हुँदै गएको देखिन्छ ।

कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक विजय केसीले उच्च प्रविधिको तिव्र विकास र यान्त्रीकरणको युगमा तुलनात्मक रोमा कम प्रभाबकारी देखिए पनि हामिले पटक पटक भोकिसकेका महाभुकम्प, महामारी, आर्थिक मन्दी र युद्धले हुने महाबिनासका कारण उत्पन्न हुने दुस्प्रभाब बिरुद्ध प्रतीकार्यको स्वरुप अत्याधुनिक प्रविधिविना गरिने विकास र रोजगारी सृजनामा आधारभुत श्रम प्रविधिको उपयोग गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमले अग्रिम तयारी चरण समेत पुरा गरेको बताउनुभएको छ ।

निर्यातका लागि मात्र हैन आन्तरिक खपतका लागि समेत आवश्यक उत्पादन, प्रशोधन र बजारिकरणको अभाबका कारण भएका उद्योगहरु बन्द हुने अवस्थामा वैदेशिक रोजगारी र पर्यटन समेत धरासायी हुँदा विदेशबाट फर्किने जनसक्तिलाई ब्यवस्थापन गर्न बेलैमा तयारी नगरे नेपालमा भयाबह स्थिति उत्पन्न हुने देखिन्छ ।

परम्परागत सीपमा आधारित रोजगारी गुम्दै जाने र आधुनिक क्षेत्रमा कृतिम बौधिकता र यान्त्रीकरणले मानवीय रोजगारी धरापमा पर्दै जाने हो भने रोजगारीकै कारण नेपालको अस्तित्व माथि नै खतरा उत्पन्न हुने देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार शिवपुरी गाउँपालिकामा रहेको ४ हजार ९२५ घरधुरी मध्ये २ हजार ६ घरधुरी (४०.७३ प्रतिशत)का २ हजार ५४४ जना युवा वैदेशिक रोजगारमा गएको पाइएको छ ।

काठमाडौ उपत्यकाबाट नजिकै रहेपनि उद्योग, कलकारखाना र उचित वातावरणको अभाबले रोजगारीको लागि यहाका स्थानीयबासीहरु काठमाडौ र बैदेशिक रोजगारीमा भर पर्नु परेको अवस्था रहेको छ ।

विगतमा कृषिमा निर्भर जनसंख्या पनि तिब्र रुपमा अन्य क्षत्रमा रोजगारीको अवसरको खिजिमा रहे पनि आवश्यक सीप र तालिमको अभाबले उचित रोजगारी प्राप्त गर्न नसकोको अवस्था देखिन्छ ।

यसबाट गाउँपालिका भित्र रोजगारीको पर्याप्त अवसर नरहेको र काठमाडौ तथा बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले पनि उचित सीप विकासको तालिम नपाएको देखिन्छ । रोजगारी सृजनामा स्वरोजगारी र उद्यमशिलताको तालिम अत्यावश्यक देखिन्छ ।तालिम प्राप्त मानव स्रोतलाई स्थानीय क्षेत्रमा नै टिकाउन उद्यमशिलता र स्वरोजगारीको अवसरलाई वृद्धि गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web