ड्वाचेको पानी केही दिनमै नुवाकोट दरबार क्षेत्रमा

बैशाख १९, २०८२ मा प्रकाशित | 254 views

ड्वाचेको पानी केही दिनमै नुवाकोट दरबार क्षेत्रमा

नुवाकोट । नुवाकोटको साततले दरबार पुर्ननिर्माणको लागी अबको केही दिनमा नै ड्वाचे खानेपानी योजनाको पानी ल्याइने भएको छ । त्यसका लागी विदुरका नगरप्रमुख राजन श्रेष्ठले योजना कार्यान्वयनमा रहेका पालिकाहरु सूर्यगढी, लिखु र तादी गाँउपालिकाको अध्यक्षहरु सहित खानेपानी योजनाको पदाधिकारीहरुसंगको समन्वयमा  पानी ल्याउने ट्याङ्कीको अवलोकन पश्चात पानी विस्तार सुरु गर्न लागिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले ड्वाचेबाट ल्याएको पानीलाई विदुर–२ स्थित नुवाकोट दरबार क्षेत्रमा ल्याउन सूर्यगढीको चोगते स्थित उपल्लो गाँउमा रहेको ८० हजार लि. क्षमताको ट्याङ्कीसम्म आइरहेको पानीको बिहीबार अवलोकन पश्चात अबको दुई–तीन दिनभित्रै पानी ल्याउन प्राविधिकहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।

अहिले चोगतेको उपल्लो गाँउमा रहेको ट्याङ्कीबाट आपतकालीन प्रयोजनको लागी २५ एम.एम पाइपमा पानी ल्याउन लागिएकाले काम सुरु गरिहाल्ने र दुई दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

पानी विस्तारको लागी उपल्लो गाँउको ट्याङ्कीबाट नुवाकोट दरबार क्षेत्रमा पानी ल्याइएको मुहान विदुर–११ सिप्लिकान ट्याङ्कीमा एकीकृत गरेर सोही पाइपलाइनबाटै ल्याउन लागिएको हो । उपल्लो गाँउदेखि सिप्लिकान ट्याङ्कीसम्मको दुरी करीब ६ किमी हाराहारीमा रहेकाले पाइप विस्तार गरेर पानी जडान भएर सुचारु गराउन दुई दिन भित्र काम सम्पन्न गर्ने गरेर आवश्यक जनशक्ति खटाउन लागिएको छ ।

नुवाकोटको ऐतिहासिक साततले दरबार पुर्ननिर्माण गर्न आएको चिनियाँ पक्षलाई पानी उपलब्ध गराउनुपर्ने माग अनुसार विदुर नगरपालिकाले जनाएको प्रतिबद्धता अनुरुप नगरप्रमुख श्रेष्ठले पहलमा ड्वाचेको पानी दरबार क्षेत्रसम्म ल्याउन लागिएको हो ।

उपल्लो गाँउमा आएको पानीलाई आपतकालीन प्रयोजनको लागी पठाइने र आगामी दिनमा विदुर–२ मा विस्तार गरिने पानीलाई पनि सोही पाइपलाइनबाट थप बृद्धि गराउदै लैजाने ड्वाचे खानेपानी योजनाका अध्यक्ष कृष्णमान घलेले बताउनुभयो ।

बिहीबार नगरप्रमुख सहित योजनाको अध्यक्ष लगायतको टोलीबाट स्थलगत अवलोकन, पाइप विस्तारका लागी आवश्यक प्राविधिक जानकारी सहितको तयारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web