रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित

बैशाख १७, २०८२ 2025-04-30 मा प्रकाशित
Published at 2025-04-30

87 views

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चाैधरी पक्राउ परेका छन् । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चाैधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेर चौधरीलाई पक्राउ गरेको बताउनुभयो । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।

२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए । आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।

रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । जनमतका अध्यक्ष सीके राउतले आजको एकीकरण घोषणा कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदै बैठक बसेर अर्को सूचना दिने जानकारी गराउनुभएको छ ।

उहाँले चौधरी पक्राउको भर्त्सना गर्दै पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा आउन नदिन चौधरीलाई पक्राउ गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.