सिमेन्ट र डन्डीमा वैशाख १ गतेदेखि एमआरपी अनिवार्य

चैत्र ३१, २०८१ मा प्रकाशित | 262 views


काठमाडौँ । सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी (फलामे छड)मा एमआरपी अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्ट र डन्डी उद्योगीलाई विभागको छलफलमा बोलाएर वैशाख १ गतेदेखि एमआरपी मूल्य अनिवार्य राख्न निर्देशन दिइएको जानकारी दिएका छन् ।

‘उद्योगीहरूलाई बोलाएर छलफल गरेका थियौँ । वैशाख १ गतेदेखि अनिवार्य एमआरपी राख्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘उद्योगीहरूले फ्याक्ट्री गेट प्राइस राखेर पठाउने र बिक्रेताले फ्याक्ट्री गेट प्राइसमा बिक्री मूल्य राखी बिक्री गर्ने सहमति जनाउनुभएको छ ।’

विभागले चैत १४ गते नै सूचना निकालेर चैत २० सबै वस्तुमा एमआरपी राख्न निर्देशन दिएका थियो । तर डन्डी र सिमेन्ट उद्योगी भने एमआरपी राख्नेबारे पछि हटेका थिए । गत चैत २० गते विभागमा भएको एमआरपी राख्नेबारे भएको छलफलबाट निष्कर्षमा नपुगी उद्योगीहरू उठेर हिँडेका थिए । सोही दिन विभागले एक सूचना जारी गर्दै सिमेन्ट र डन्डी उद्योगीलाई फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिएको थियो ।

तर अबभने वैशाख १ गतेदेखि उद्योगीहरूले फ्याक्ट्र गेट प्राइस र व्यापारीले बिक्री मूल्य राख्नेगरी सहमति भएको महानिर्देशक दहालको भनाइ छ ।

‘उहाँहरूले वैशाख १ गतेदेखि राख्छौँ भन्नुभएको छ । अरू वस्तुको धमाधम एमआरपी राखिरहेका छन् । नराख्नेहरू हामीकहाँ कसरी राख्ने भनेर सोध्न आइराख्नुभएको छ । सम्झाएर पनि पठाइरहेका छौँ,’ उनले भने, ‘किनभने धेरै उत्पादनमा लेबल राख्ने प्राक्टिस नै छैन हाम्रोमा । त्यसले गर्दा हामीले दिएको समय सकिसकेको छ । सोहीअनुसार बजार अनुगमनलाई पनि तीव्र पारेका छौँ ।’

साथै एमआरपी नराखी बजारमा पठाएको फेला परे कारबाही गरिनेसमेत बताएका छन् ।

विभागले गत चैत १४ गते एक सूचना प्रकाशित गर्दै स्वदेशमा उत्पादित तथा आयातित वस्तुमा चैत २० गतेभित्र अनिवार्य एमआरपी उल्लेख गर्न निर्देशन दिएको छ । उत्पादक तथा आयातकर्तालाई कुनै पनि वस्तु बजारमा पठाउनुअघि लेबल राखेर मात्र पठाउन निर्देशन दिइएको छ ।

बजारमा पठाउने वस्तुको लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र व्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने एमआरपी उल्लेख गर्नुपर्ने जनाएको छ । साथै गुणस्तर निर्धारण भएको वस्तु भए वस्तुको गुणस्तर, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्न निर्देशन दिइएको छ ।

यसैगरी इलेक्ट्रोनिक हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए ग्यारेन्टी वारेन्टी मिति, प्रज्वलनशील, दुर्घटनाजन्य, सजिलैसँग टुटफुट हुनसक्ने वस्तु भए त्यसको सुरक्षाका लागि पूर्वसावधानीसम्बन्धी विवरणसमेत उल्लेख गर्नुपर्ने जनाएको छ ।

साथै खुला रूपमा बिक्री गरिने फलफूल तरकारीजस्ता दैनिक उपभोग्य वस्तु बिक्रीका लागि भने लेबल राख्नुपर्ने छैन, तर आयात (प्याकेटमा ल्याइएका) गरिएका फलफूल तथा तरकारीमा लेबल राख्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web