चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने

चैत्र २४, २०८१ मा प्रकाशित | 337 views


काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्युजन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुनेभएको छ । एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कम्पनीका अध्यक्ष सत्यकला लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन । “आगामी बैशाख २८ गते चीनको गुइलिनमा दुवै देशको सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुवै देशको सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ”, तामाङले भनिन ।

कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिनेछ । कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले आफूहरुले यसअघि पनि स्वदेश तथा विदेशमा जापान, यूएई जस्ता देशहरुमा यसप्रकारका कार्यक्रम गरिसकेको जानकारी दिँदै यसले नेपाल र चीनबीचको सम्बन्ध अझ आत्मीय र बलियो हुने बताए ।

उहाँले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अवार्ड समेत प्रदान गरिने जानकारी दिए । उनले भने, “कार्यक्रममा नेपाल र चीन दुवै देशका कलाकारहरु, पर्यटन व्यवसायी, व्यवसायी र सरकारका प्रतिनिधिहरु सहभागी हुनेछन्, त्यसले दुवै देशबीचको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुर्याउनेछ ।”

कोरियोग्राफर कमल राईले चीनको गुइलिनमा राई, लिम्बु, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका भेषभुषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी नृत्य प्ररस्तुत गरिने बताए ।

एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्टले यसअघि नेपालमा एभरेष्ट टुरिजम अवार्ड-२०२५, विसं २०७९ सालमा टुरिजम अवार्ड कार्यक्रम आयोजना गरिसकेको छ । साथै जापान र यूएईमा पनि सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web