फागुन महिनामा देशभर अपराधका चार हजार मुद्दा दर्ता

चैत्र ११, २०८१ मा प्रकाशित | 247 views


काठमाडौँ । फागुन एक महिनामा मात्र देशभर चार हजार चार सय ६८ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका एक हजार एक सय २७ अर्थात् २५ दशमलव २२ प्रतिशत रहेका छन् ।

काठमाण्डौ उपत्यकामा अपराधका घटना बढी हुनुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् ।

पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उहाँले बताउनुभयो । बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् ।

आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

काठमाण्डौ उपत्यकामा मात्र एक हजार तीन सय ३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताउनुभयो । मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा छ सय ६५, लुम्बिनी प्रदेशमा छ सय १२, बागमतीमा तीन सय ७६, सुदुरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web