स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने

फाल्गुन ८, २०८१ मा प्रकाशित | 270 views


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गतेबाट स्वास्थ्य सम्बन्धी गतिविधिबारे भिडियो ब्रिफिङ सुरु गर्न लागेको हो ।

हरेक शुक्रबार दिउँसो १:३० बजे भिडयो ब्रिफिङ हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

डा.बुढाथोकीका अनुसार साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढी भन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए ।

मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । कोभिडको समयमा मन्त्रालयले प्रत्यक्ष प्रसारण गरी कोभिड-१९ बारे दैनिक विवरण तथा जानकारी दिने गरेको थियो । दैनिकबाट सातामा एक पटक हुँदै उक्त कार्यक्रम बन्द गरिएको थियो ।

स्वास्थ्य क्षेत्रमा भइरहेका काम, स्वास्थ्य सम्बन्धमा आवश्यक सूचना आदि नागरिकलाई नियमित रुपमा जानकारी गराउन भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web