<p>पप्पु गुरुङ्, १२ साउन, दोधारा चाँदनी । सरकारी निकायको चरम लापरवाहीका कारण महाकाली नदीलाई दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । पुलको उचित मर्मत सम्भार नहुदा कतिपय स्थानमा नट वोल्टहरु खुस्कीएका छन् भने जाली च्यातिएको तथा चर्किएको अवस्था छ । दोधारा चाँदनीलाई जिल्लाको सदरमुकाम महेन्द्रनगर संग जोड्न बनाइएको झोलुङ्गे पुलको अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । झोलुङ्गे पुल नबन्दा सम्म घुमाउरो बाटो हुदै भारतीय पक्षको सास्ती खेप्दै यात्रा गर्ने दोधारा चाँदनीबासीहरु पुल बनेपछि जति खुशी थिए त्यति नै सम्बन्धी निकायले पुलको मर्मत सम्भारमा ध्यान नदिदा दुखी भएका छन् । स्थानिय दिल बहादुर सिंह अनुसार पुलको बिच बिच भागमा प्लेट टुटेर हिड्न समेत गाहे भएको बताएका छन् । “सम्बन्धित निकायले पुलको मर्मत नगरिदिदा करोडौको सम्पत्ती कवाड बन्दै गएको छ्” स्थानिय सिंहले भने । पुल मर्मतका लागि भन्दै जिविसले वर्षेनी कर उठाउदै आएपनि मर्मत सम्भार भने नगर्ने गरेको उनीहरुको गुनासो छ । महाकाली किनारमा बस्ती भन्दा २ सय मिटर र झोलुङ्गे पुल भन्दा ५ सय मिटर टाढाबाट नदी जन्य पदार्थ उठाउनुपर्ने सूचना बोर्ड राखिएको छ । तर, नदीमा भने मापदण्ड विपरित झोलुङ्गे पुलबाट एक सय मिटरको दूरीमै अत्यधिक मात्रामा ढुङ्गा, गिट्टी र वालुवा उत्खनन हुदै आएको छ । पुलकै छेउ छाउवाट निकालिएको नदी जन्य वस्तुका कारण पुलका कतिपय पिलरहरुको जग समेत देखिन थालेका छन् । स्थानीय निकाय मात्र होइन पुलको संरक्षणमा स्थानीय बासिन्दाले समेत ध्यान दिएको देखिदैन । जसले गर्दा पुलबाट ५० किलो भन्दा बढी सामान लग्न नपाइने स्थानीय सहमतिको कार्यान्वयन हुन नसकेको र पुलको भविष्य खतरामा परेको सरोकारवालाको भनाई छ । २०६१ सालमा ९ करोड ३७ लाख रुपैंया बराबरको लागतमा निर्माण गरिएको दोधरा चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिमका लागि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको मुख्य केन्द्र बिन्दु बन्दै आएको छ । पुलको अवलोकन गर्न स्वदेश तथा विदेशवाट वर्षेनी हजारौं पर्यटकहरु आउने गरेका छन् । तर, बाहिरबाट आउने पर्यटकहरुका लागि उपयुक्त पिकनिक स्पोट तथा वाटोघाटो र होटलहरुको सुविधा नभएको उनीहरुको गुनासो छ । २ सय मिटर सम्मका झोलुङ्गे पुलको संरक्षणका लागि जिल्ला विकास समितिले छुट्टै झोलुङ्गे पुल शाखा बनाएको छ । तर, डेढ किलोमिटर लामो दोधारा चाँदनी झोलुङ्गे पुलको संरक्षणका लागि भने सरकारले केन्द्रबाट नै बजेट छुट्याउने गरेकाले सामान्य मर्मत बाहेकका बाँकी काम गर्न नसकिने जिविसले जनाएको छ । पुलको संरक्षणका लागी पहल गर्न स्थानियवासी एवम पुल हेर्न आउने पर्यटकहरुले सरोकारवाला पक्ष संग आग्रह गर्दै आए पनि सम्बन्धित निकायले भने त्यसतर्फ खासै ध्यान दिएको देखिदैन ।<br><br><br></p>
16.73¡ÆC