
काठमाडौँ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो ।
“क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राख्नुभयो । उहाँले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिनुभयो ।
“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “तेस्रो र चौँथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”