नेपाल तामाङ घेदुङको दबाबले सच्चिने भयो ‘तामाङको लोकबाजा’

माघ १०, २०८१ मा प्रकाशित | 1208 views


त्रिशूली । कक्षा ९ को अनिवार्य नेपालीमा समावेश गरिएको नेपाली लोकबाजा निबन्धमा तामाङ समुदायको बाजा सम्बन्धि गलत ब्याख्यालाई पाठ्यक्रम विकास केन्द्रले सच्याउन तयार भएको छ ।

नेपाल तामाङ घेदुङ नुवाकोटले यही माघ ७ गते जिल्ला प्रशासन कार्यालय नुवाकोट र शिक्षा विकास तथा समन्वय एकाईको कार्यालय नुवाकोट मार्फत केन्द्रलाई सच्याउन दिएको दबाब पश्चात उल्लेखित गलत ब्याख्या सच्याउने निर्णय भएको हो ।

पाठ्यक्रम विकास केन्द्रको कार्यालयमा बिहीबार बागमती प्रदेससभा सदस्य एंव माओवादी केन्द्रका नेता राधिका तामाङ सहितको तामाङ समुदायको अगुवाहरु, नेपाल तामाङ घेदुङ नुवाकोटका अध्यक्ष एंव शिवपुरी गाँउपालिका उपाध्यक्ष वीरबहादुर तामाङ सहित घेदुङ नुवाकोट र केन्द्रका पदाधिकारी सहित केन्द्रका पदाधिकारी सम्मिलित बैठक पश्चात गल्ती भएको भन्दै बाजा सम्बन्धि उल्लेखित विवरणमा भएको त्रुटी सच्याउन केन्द्र सहमत भएको हो ।

केन्द्रको तर्फबाट महानिर्देशक इमनारायण श्रेष्ठ, निर्देशकद्धय दिनानाथ गौतम र बासुदेव वस्तीले तामाङ समुदायका अगुवाहरुसंगको बैठकले दुई बुँदे निर्णय गर्दै आगामी वर्ष गल्ती सच्याएर पुनः पाठ्यपुस्तक छपाई गर्ने सहमति भएको हो ।

छलफल पश्चात भएको सहमतिमा ‘मगरजातीको अमूल्य निधिको रुपमा उल्लेख गरिएको डम्फू बाजा र राई किरात जातीको बाजा भनि उल्लेखित गरिएको टुङ्ना बाजालाई तामाङ जातीको अमूल्य निधिको रुपमा उल्लेख गर्ने’ निर्णय भएको छ ।

यस्तै, ‘तामाङ जातीको बाजा भनेर उल्लेख भएका ग्यापुङ, सरुङ्गे र सिनाडुङ बाजालाई कक्षा ९ को अनिवार्य नेपाली विषयको हाम्रो लोकबाजा पाठबाट हटाउने’ र ‘उल्लेखित निर्णय सम्बोधन गरेर तत्कालै छपाईमा पठाउने र वेभसाइड लगायतमा अध्यावधिक गर्ने गराउने’ निर्णय भएको नेपाल तामाङ घेदुङ नुवाकोटका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिनुभयो ।

दुई वर्षअघि तयार गरिएको उक्त पाठ्यक्रममा तामाङ जातीको अमूल्य निधिको रुपमा तामाङ समुदायको बाजा डम्फू र टुङ्ना हुनुपर्नेमा अन्यथा उल्लेख भएको पाइएसगैँ नुवाकोट घेदुङले तत्कालै सच्याउन पाठ्यक्रम विकास केन्द्रलाई नुवाकोटबाट ध्यानाकर्षण गराएको थियो ।

सोही ध्यानाकर्षण पश्चात केन्द्रले तामाङ समुदायका अगुवा सहित नेपाल तामाङ घेदुङ नुवाकोटका पदाधिकारीलाई बोलाएर गल्ती भएको भन्दै सच्याउन तयार भएको हो ।

 

यसरी गलत व्याख्या गरिएको थियो नेपाली लोकबाजा निबन्ध पाटमा तामाङ समुदायको मुख्य बाजालाई ।।

नेपाल तामाङ घेदुङ नुवाकोटले माघ ७ मा बुझाएको ध्यानाकर्षण पत्र यस्तो थियो । जसले पछिल्लो दुई वर्षदेखि अध्यापन गराउदै आएको पाठ्क्रमलाई सच्याउन सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web